जनकपुर । धनुषाको धनौजी गाउँपालिकाको वडा नम्बर ३, झोझी कटैयामा वडा अध्यक्ष रामदुलार मण्डलले व्यापक हिनामिना गरेको भन्दै सोही वडाका सदस्य तथा स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । स्थानीय तहमा अनियमितता भएको भन्दै जनप्रतिनिधिले नै वडा कार्यालयमा तालाबन्दी गरेका छन्
वडा नम्बर ३ का ४ जना वडा सदस्यले स्थानीयवासीको सहयोगमा वडा कार्यालयमा तालाबन्दीसहित प्रदर्शन गरेका हुन् । वडा सदस्यहरु रामकुमार महतो, रामखेलावन पासवान, समाना खातुन र जीतोदेवी मण्डल सहित वडावासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले अनियमितताको छानबिनका लागि मागसमेत गरेका छन् ।
गरिब तथा विपन्न परिवारका लागि कम्बल वितरण गर्न वडालाई धनौजी गाउँपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरे पनि हालसम्म कम्बल वितरण नगरेको नेपाली काँग्रेसका वडा सभापति राम नारायण यादवको आरोप छ ।
झोझी टोल सडक निर्माणमा ४४ लाख रुपैयाँमध्ये १० लाख रुपैयाँको काम भएको जनता समाजवादी पार्टी धनौजी गाउँपालिकाका वडा अध्यक्ष शिवशंकर साहको दावी छ ।
आँखा उपचार केन्द्रका लागि औषधि, मेसिन बापत १४ लाख रुपैयाँ बजेट लिएको भए पनि औषधि तथा मेसिन खरिद नगरेको स्थानीयवासी तथा वडा सदस्य जितोदेवी मण्डलको भनाइ छ । यस्तै आयुर्वेद औषधालयको १८ लाख रुपैयाँको चेकको निकासा भए पनि औषधि खरिद नगरेको स्थानीयवासी बताउँछन् ।
दुर्गा मन्दिरको निर्माणका लागि ५ लाख रुपैयाँ लिए पनि झोझी कटैयामा दुर्गामन्दिर नै नभएको वडा सदस्य रामकुमार महतोको भनाइ छ । ५० बोरा जैविक मल वितरण नगरेको, कृषि प्रयोजनका लागि २७ वटा ट्यांकी वितरण नगरेको, ३ ईन्चको ३ थान स्यालो ट्युवेल वितरण नगरेको, जिंक ८ सय किलो किसानलाई वितरण नगरेको वडा सदस्य महतोले बताए । यी योजनामा थुप्रै अनियमितता भएको उनको भनाइ छ ।