वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्ले मंगलबार सिफारिस गरेको उक्त अध्यादेशले राजनीतिक दललाई फुटाउन सहज हुने व्यवस्था गरिएको छ ।
राष्ट्रपतिका स्वकीय सचिव डा.भेषराज अधिकारीका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार अध्यादेश प्रमाणीकरण गरेकी हुन् । मन्त्रिपरिषदबाट पारित भएको अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि कम्तीमा ४० प्रतिशत सदस्य पुगेमात्रै दलफुटाउन पाइने व्यवस्था थियो । अध्यादेशलाई लिएर तीव्र आलोचना भइरहेको छ ।नेपाली कांग्रेस भित्रै पनि यसको विरोध भइरहेको छ । तर एमालेका नेता माधवकुमार नेपाल पक्षलाई दल विभाजनका लागि सहज हुने गरि अध्यादेश आएको हो ।