जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाको कामकाज १४ दिनदेखि ठप्प भएको छ । वडासचिवहरुले गरेको आन्दोलनका कारण पालिकाको कामकाज ठप्प भएको हो ।गत साउन ११ गते नगराइन नगरपालिका ५ गंगुलीका वडा सचिव सुबोध झामाथि कार्यालयमै हातपात तथा दुर्व्यवहार भएपछि दोषीमाथि कारबाहीको माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।
सचिव झामाथि आक्रमण गर्ने गंगुलीका राधेश्याम झा, भवन झा, आलोक कुमार झा लगायतका व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको उनीहरुले माग राखेका छन् ।घटनालगतै जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदा समेत उनीहरुलाई पक्राउ नगरिएको वडा सचिव धर्मेन्द्र मिश्रले बताए ।
जिल्ला प्रशासन कार्यालय धनुषाले १२ साउनमै आक्रमण गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न पत्र लेखेको थियो। तर, हालसम्म उनीहरु पक्राउ नपरेपछि वडासचिवहरु आन्दोलन जारी राखेका हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले सचिवमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको बताए।‘उनीहरुको खोजी भइरहेको छ । म केही दिनअघि मात्रै धनुषा आएकाले यो घटनाको विषयमा बुझ्दै छु,’ बस्नेतले भने, ‘घटनामा संलग्नहरुको खोजतलास जारी छ । दोषीमाथि कारबाही हुन्छ ।’