वीरगन्ज । चिवतनकी विना सापकोटा असार १४ गतेदेखि बेपत्ता छिन् । राति अबेरसम्म घर नआएपछि परिवारले प्रहरीलाई बिना बेपत्ता भएकाे खबर दिएकाे थियो ।
बेपत्ता भएकी विनाको खोजी कार्य जारी नै रहेको प्रहरीले जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले विना हराएको दिन राति नारायणी नदी किनारमा देखिएको बताए । ‘नजिकै रहेको सिसीक्यामेरा फुटेज हेर्दा उनी राति ८ बजेर ४१ मिनेटमा नारायणी नदी किनारमा देखिएकी थिइन् । नदीतर्फ जाने एक पसलको सिसीक्यामेरामा उनी नदी किनारतर्फ गएको देखिन्छ’, एसपी अधिकारीले भने ।
नदी किनारमा देखिएपछि प्रहरीले त्यस क्षेत्रमा व्यापक रूपमा खोजतलास गरेको थियो । तर अहिलेसम्म उनीबारे कुनै पनि जानकारी प्राप्त हुन नसकेको एसपी अधिकारीले जानकारी दिए ।
गैंडाकोट नगरपालिका-४ की २१ वर्षीया विनाबारेमा प्रहरीले कुनै पनि सुराक पत्ता लगाउन सकेको छैन ।
नदी किनारमा देखिएपछि प्रहरी र स्थानीयले देवघाटदेखि गौरीघाटसम्मको नदी तटीय क्षेत्रमा समेत खोजी गरेको थियो । त्यस्तै प्रहरीले उनी रहेको हुनसक्ने सम्भावित क्षेत्रमा समेत टोली बनाएर खोजी कार्य भइरहेको एसपी अधिकारीले बताए ।
प्रहरीले उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका-४ का प्रवेश कँडेललाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरेको थियो । उनी हराएको दिन प्रवेशले बिनाकै घरबाट स्कूटरमा राखेर आफ्नो घर लगेका थिए । प्रवेशले विनालाई आफ्नो घरमा ल्याउँदा प्रवेशको अर्की युवतीसँगको सम्बन्धबारे थाहा पाएपछि विना बेहोस भएको र होसमा आएपछि त्यहीबाट निस्केको प्रवेशले प्रहरीसँग बयानमा उल्लेख गरेका थिए ।
भतरपुरको चौविसकोठीमा आएपछि विनालाई बाहिर राखेर प्रवेश बैंकको एटिएममा पैसा निकाल्न भित्र पसेका थिए । त्यही बेला उनी बाहिरबाट प्रवेशलाई छोडेर निस्किएकी थिइन् ।
यसअघि पूर्वी चितवनको राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारी ९ दिन बेपत्ता भएपछि जंगलमा मृत फेला परेकी थिइन् । उनको मृत्युको कारण अझै पत्ता लाग्न सकेको छैन ।