वीरगन्ज । निषेधाज्ञा खुकुलो भएको पहिलो दिन नै नेपालमा अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार सोमबार २२ सय ९७ जनामा संक्रमण पुष्टि भएकोमा आज ४५ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
यद्यपि, सोमबारको तुलनामा मंगलबार झण्डै ६ हजार बढीको परीक्षण गरिएको छ ।सोमबार १० हजार ९ सय ४ जनाको परीक्षण गरिएको थियो भने मंगलबार १६ हजार ९ सय १९ जनाको परीक्षण गरिएको छ ।यसैबीच मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी संक्रमित थपिएका छन् ।
यो अवधिमा काठमाडौंमा ३ सय १० जनामा संक्रमण पुष्टि भएको छ ।काठमाडौंपछि झापा जिल्लामा दोस्रो सबैभन्दा बढी अर्थात १ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ ।पर्वतमा १ सय ५० जनामा संक्रमण पुष्टि हुँदा म्याग्दि जिल्लामा १ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।
बागलुङ जिल्लामा भने आज ६६ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।यसबीच, नेपालमा संक्रमणमुक्त हुने दर ९० दशमलव २ प्रतिशत पुगेको पनि मन्त्रालयले जनाएको छ ।