वीरगन्ज । सानी चौरसिया | कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएसँगै दैनिक उपभोग्य सामग्रीको स्वभाविक मूल्यवृद्धि भएको छ ।कोरोना महामारी सुरू भएसँगै आयस्रोत गुमेर क्रय शक्ति कमजोर बनेका बेला उपभोक्ताको ढाड सेक्ने गरी महंगी बढेको हो ।तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ ।
यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन् ।लामो समयसम्म टिकाउ नरहने तरकारीको मूल्य बजारमा एकाएक आकासिएपछि उपभोक्ता मार्कामा परेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।तर तरकारीको मूल्य होलसेलमा सस्तो नै भएको र खुद्रामा मनपरी मूल्य गरेको समितिको भनाइ छ ।
राज्यको अनुगमन निकाय फितलो भएको कारण बजारको मूल्यमा व्यापारीले मनपरी गरेको उपभोक्ताको गुनासो छ ।अनुगमन गर्ने सरकारी निकाय सक्रिय बनाउन नसक्दा उपभोक्ताले मर्का खेपिरहनु परेको अधिकारकर्मीहरुले जनाएका छन् । वीरगन्जमा गत साता भन्दा तरकारीको अप्रत्याशित मूल्य वृद्धि भएको छ । निषेधाज्ञा पछि ओरालो लागेको तरकारी एकाएक वृद्धि हुन थालेको छ ।
वीरगन्जमा अफ सिजन, मागको आधारमा तरकारी उत्पादन नहुनु लगायतका कारणले भाउ बढेको व्यापारीहरूले बताउने गरे पनि सरकारको कमजोर अनुगमन र बिचौलियाको बजार नियन्त्रणका कारण तरकारीको मूल्य बढेको हो ।निषेधाज्ञाका कारण होटेल, रेस्टुरेन्टलगायत धेरै खाद्यान्न, तेल र तरकारी खपत हुने ठाउँहरू पूर्ण रुपमा बन्द हुँदा माग घटे पनि मूल्य भने निरन्तर उकालो लागेको हो ।