वीरगंज | सरकारले खोप खरिदसहित अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा देखिएका कानुनी जटिलतालाई सहज बनाउन गृहकार्य थाल्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि खरिद प्रक्रिया सहज बनाउन कानुन निर्माण गर्न लागिएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । खोप खरिदमा दिनुपर्ने अग्रिम भुक्तानीलगायत अन्य सामग्री खरिदमा रहेका झन्झटिला प्रक्रियालाई छिट्टै सहज बनाइने उनले बताए ।
‘खोप खरिदलगायत स्वास्थ्य सामग्री खरिदमा केही प्रक्रिया झन्झटिला छन् । तिनलाई सरल बनाउन केही दिनभित्रै हामी कानुन संशोधन गर्छौँ,’ ज्ञवालीले भने ।कोभिड संकट व्यवस्थापन समिति (सीसीएमसी)को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रिया र आर्थिक स्रोतमा अल्झिर नबस्न निर्देशन दिएका थिए । ‘हप्तामा हुने काम दिनमा र दिनमा हुने काम घण्टामा गर्नुस् । प्रक्रिया र आर्थिक श्रोतको अभाव भन्दै अल्झिए नबस्नुस् । आवश्यक कानुन र प्रक्रिया मिलाउनुस् । हर हालतमा नागरिकको जीवन रक्षामा केन्द्रित हुनुहोस्,’ प्रधानमन्त्री ओलीको निर्देशन थियो ।
बैठकले लिक्विड अक्सिजन खरिदका लागि भारतसँग कूटनीतिक पहल गर्ने निर्णय गरेको छ । अक्सिजनको अभाव हुन नदिन अन्य मुलुकसँग समेत पहल भइरहेको मन्त्री ज्ञवालीले बताए । ‘हामीकहाँ लिक्विड अक्सिजन उत्पादन नहुने भएकाले भारत सरकारलाई सहयोगका लागि पत्राचार गर्ने भएका छौँ । विगतमा पनि भारत सरकारबाटै अक्सिजन प्राप्त भएको थियो । त्यसका निम्ति आवश्यक ट्यांकरसमेत तयार गर्ने निर्णय भएको छ,’ उनले भने ।
बैठकले अक्सिजन उत्पादन कम्पनीहरूलाई विद्युतमा छुट दिने प्रस्तावसमेत गरेको छ । सीसीएमसीको बैठकमा स्वास्थ्य संकटकालमा विषयमा पनि छलफल भएको थियो । हाल संक्रामक रोग ऐनअन्तर्गत काम भइरहेकाले नतिजा आउने स्थितिमा मात्रै संकटकाल लगाउनुपर्ने सुझाव आएको मन्त्री ज्ञवालीले बताए ।
बैठकले कोरोना उपचारका निम्ति युनिफाइड अस्पताल बनाउने निर्णयको प्रभावकारी कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ । ‘कोभिड अस्पताल एकीकृत ढंगले चलाउन जरुरी छ । स्वास्थ्य मन्त्रालय, प्रतिष्ठान र प्रादेशिक अस्पताल र स्थानी अस्पताललाई एकीकृत प्रणालीमार्फत सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई भनिएको छ,’ मन्त्री ज्ञवालीले भने ।विभिन्न मुलुकबाट अक्सिजन आपूर्ति भइरहेकाले केही दिनभित्रै स्थिति सहज हुने सीसीएमसीको विश्वास छ ।