बीरगन्ज । विगतका वर्षहरु भन्दा यसबर्ष नेपालमा वायु प्रदूषण अत्यधिक बढेको वातावरण विभागले जनाएको छ । प्रदूषण बढेपछि काठमाडौँ संसारकै धेरै वायु प्रदूषण भएको शहरको सूचीमा पुनः पहिलो नम्बरमा परेको छ । नेपालमा १४ गुणा बढी डढेलो लागेको कारण प्रदूषण अत्यधिक बढेको विभागले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्यको दृष्टिकोणले एयर क्वालिटी इन्डेक्स ५० भन्दा तल हुँदा मात्रै स्तरीय मानिन्छ । तर, यतिबेला नेपालको एयर क्वालिटी इन्डेक्स २ सय ६० भन्दा माथि छ । जुन वायु प्रदूषणको खतरनाक तह हो ।
गत महिनादेखिको तथ्याङ्क हेर्ने हो भने काठमाडौंमा वायुको गुणस्तर खतरनाक तह अर्थात् ३०० भन्दा उच्च देखिएको छ । लामो समयदेखि आकाशमा तुवाँलो देखिनु र मौसम स्थिर र खराब देखिनुको कारण हावा अत्यधिक प्रदुषित भएको हो ।
हिउँदे वर्षा अभावका कारण यो वर्ष पुस महिना अगावै डढेलो र आगलागी सुरु भएको थियो । अहिले काठमाडौं लगायत देशका मुख्य भागहरुमा समेत अत्यधिक वायु प्रदुषण छ । अहिले देखिएको अत्यधिक वायु प्रदूषणको कारण आगलागी र डढेलो नै भएको वातावरण विभागले जनाएको छ ।
६ महिनाको तथ्याङ्क अनुसार ७३ जिल्लामा २,७०० डढेलोका घटना देखिएका छन् । नेपालमा प्रि–मनसुनको समय सुरु भइसकेपछि पनि यो वर्ष एकदमै न्यून वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुईदेखि तीन दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना छैन ।
यसले गर्दा तत्काल वायु प्रदूषण कायमै रहन्छ ।
वायु प्रदूषणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने र दीर्घकालीन रुपमा फोक्सोको क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या देखिने सम्भावना रहेको चिकित्सकहरुले बताएका छन् ।
वायु प्रदूषण नियन्त्रण गर्न फोहोर नजलाउने, पुराना सवारी साधन नचलाउने र न्यूनीकरणका लागि दीर्घकालीन पहल आवश्यक छ । वायु प्रदूषणबाट बच्न अत्यावश्यक नपरी घर बाहिर ननिस्किन र मास्कको प्रयोग अनिवार्य गर्न वातावरण बिभागको अनुरोध छ ।