कृष्णा कुशवाहा।वीरगंज।नेपालमा आजदेखि कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू भएको छ । भारत सरकारले नेपाल सरकारलाई अनुदान स्वरूप कोरोना विरुद्ध खोप उपलब्ध गराएपछि अभियान सुरु भएको हो ।
वीरगञ्जस्थित नारायणी क्षेत्रिय अस्पतालमा पनि निशुल्क खोप लगाइने कार्यक्रमसुरुभएको छ । नारायणी अस्पतालमा कार्यरत एकजना महिला स्वास्थ्यकर्मीलाई खोप लगाएर पर्सामा कार्यक्रमको सुरुवात गरिएको छ । नारायणी अस्पतालको एनआईसियू वार्डकी इन्चार्ज नर्स हेमा थापालाई प्रदेश नम्बर २ मा पहिलो खोप दिइएको छ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा नारायणी अस्पतालमा आयोजित एक कार्यक्रमबीच थापालाई खोप लगाइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जय ठाकुरले बताए । अस्पतालले आज पहिलो दिन एक सय जनाभन्दा बढीलाई खोप लगाउँने लक्ष्य बनाएको मेसु डा. ठाकुरले बताए ।
उनले पहिलो चरणमा जनस्वास्थ्य कार्यालय पर्सामा नाम दर्ता गराएका सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी, सफाई कर्मचारी, एम्बुलेन्स चालक, शववहान चालक समेतलाई खोप लगाउने कार्यक्रम राखिएको छ । दोस्रो चरणमा फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाइने योजना रहेको उनले बताए ।
सरकारले जनस्वास्थ्य कार्यालय पर्सालाई पहिलो चरणको खोप कार्यक्रमका लागि पाँच हजार जनालाई पुग्ने खोप उप्ल्बब्ध गराएको डा. ठाकुरले बताए । जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार जनस्वास्थ्यसँग भएको खोप अन्य अस्पताल र निजि स्वास्थ्य संस्थालाई पनि उपलब्ध गराइने छ ।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का विघटित प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितिश कुमारलगायतको उपस्थिति रहेको थियो । वीरगञ्जमा खोप कार्यक्रमको उद्घाटन भएसँगै प्रदेश नम्बर २ का अन्य जिल्लाहरुमा पनि खोप लगाउँन सुरु गरिएको छ ।