दोहा | कोरोना महामारीका कारण रोकिएको साउदी अरेवियामा रोजगारीका लागि जाने नेपाली श्रमिकको मागपत्र प्रमाणीकरण आगामी माघ ११ गते अर्थात जनवरी २४, २०२१ देखि पुन: सुरु हुने भएको छ ।साउदीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै २०७६ फागुन ४ गते प्रकाशित सूचना अनुसार मागपत्र प्रमाणिकरणको काम अनलाइन प्रणाली मार्फत हुने जनाएको हो ।कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेको हुँदा साउदी सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना गरी मागपत्र प्रमाणिकरण गर्ने दूतावासले जनाएको छ ।
यसैगरी, साउदीले घोषणा गरेको श्रम सुधार योजना आगामी १४ मार्च २०२१ बाट लागू हुने हुँदा सो समेतलाई दृष्टिगत गरी मागपत्र प्रमाणीकरण भएपछि आउने कामदारहरु उक्त मितिपछि मात्र साउदीमा आउने व्यवस्था मिलाउन हुन सम्बन्धित इजाजतपत्रवाला संस्थाहरूलाई दूतावासले अनुरोध गरेको छ ।कोभिड-१९ संक्रमण शुरू हुनु अगाडि मागपत्र प्रमाणीकरण गरी लगेका रोजगारदाताले आफ्नो कम्पनीमा ती मागपत्रबाट हालसम्म कामदार ल्याई नसकेको अवस्था भए यसरी आउने कामदारलाई विद्यमान अवस्थामा पनि रोजगारी दिन सक्षम छ भन्ने लागेमा सो पुष्टि गर्ने कागजातलाई च्याम्बर गरी पेश गर्न सकिने दूतावासले जनाएको छ ।
साथै, मागपत्र प्रमाणिकरणसँग सम्बन्धित विषयमा समस्या सिर्जना भई दूतावासका अधिकारीसंग भेटघाट गर्नैपर्ने अवस्था आएमा दूतावासले उपलब्ध गराएको इमेलमा वा टेलिफोन नम्बरमा अपरान्ह २ देखि ४ बजेसम्म मात्र सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।भेटघाटको लागि रोजगारदाता कम्पनीको हकमा मानव संशाधन व्यवस्थापक एचआर मेनेजर वा सो भन्दा माथिको प्रतिनिधि र इजाजतपत्रवाला संस्थाको हकमा संचालक वा प्रमुख स्वयं वा निजको वैदेशिक रोजगार विभागको परिचयपत्र वाहक प्रतिनिधि हुनुपर्ने दूतावासले जनाएको छ ।