अमेरिका । अमेरिकी अधिकारीहरुले अलिबाबा होल्डिङ्स र टेन्सेन्ट होल्डिङ्समाथि लगानी गर्न अमेरिकीहरुलाई बन्देज लगाउनेबारे विचार गरिरहेका छन् । मुख्य चिनियाँ कम्पनीहरुमा अमेरिकी लगानीकर्ताहरुको स्वामित्व फिर्ता गर्ने राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनको प्रयास तीव्र पार्ने क्रममा यस्तो गर्न लागिएको हो ।
हालैका हप्तामा विदेश र रक्षा मन्त्रालयका अधिकारीहरुले चीनको सैनिक र सुरक्षा सेवासँग सम्बन्ध रहेका कम्पनीहरुमाथि अमेरिकी लगानी प्रतिबन्ध गर्ने सूचि विस्तार गर्नेबारे छलफल गरिरहेको यस मामिलाबारे जानकार स्रोतहरुको भनाइ उद्धृत गर्दै अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले समाचार छापेका छन् ।
अमेरिका सरकारले नोभेम्बरमा सेनासँग सम्बन्ध रहेको भन्दै ३१ चिनियाँ कम्पनीहरुलाई कालोसूचिमा राखेको थियो । टेन्सेन्ट र अलिबाबा शेयर बजारमा सूचीकृत चीनको सबैभन्दा मूल्यवान कम्पनी हुन् । यी दुईको संयुक्त बजार पूँजीकरण १३ खर्ब डलर छ ।
यी दुई ओटा कम्पनीमा कयौं अमेरिकी म्युचुअल फन्ड र लगानीकर्ताको शेयर छ । यो खबर सार्बजनिक भएपछि अमेरिकमा दुबै कम्पनीको शेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेका थिए ।
अधिकारीहरुले प्रतिबन्ध लगाउने योजनालाई अन्तिम रुप दिइसकेका छैनन् । कार्यकालको अन्तिम समयमा आइपुगेको ट्रम्पले चीन विरुद्धको आफ्नो हार्डलाइन नीति झनै मजबूत बनाउन खोजिरहेका छन् ।