वीरगंज। ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सौर्य विद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । अपी पावर कम्पनी लिमिटेड र बैंक अफ काठमाण्डूबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको हो । आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा कम्पनीका अध्यक्ष सतिश न्यौपाने र बैंकका तर्फबाट चिफ बिजनेस अफिसर विमल डाँगीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले इनर्जी मिक्सको सिद्धान्तअनुरुप ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सौर्य विद्युत् आयोजना पहिचान गरी निर्माण कार्य सुरु गरेको छ । प्रदेश २, रौतहटको चन्द्रपुर नगरपालिकामा सौर्य ऊर्जा उत्पादन प्यानलहरु कम्पनीले जडान गरी विद्युत् उत्पादन गर्नेछ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको चन्द्रनिगाहपुर सब-स्टेसनको ३३ केभी बसबारमा जडान गरी राष्ट्रिय प्रशारण लाइनमा प्रवाह हुनेछ ।
यो आयोजनाबाट वार्षिक ६९.२५ लाख युनिट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको अनुमानित लागत ३३ करोड छ । कुल लागतमध्ये २५ प्रतिशतले हुने रकम ८ करोड २५ लाख कम्पनीले आफ्नो स्वपुँजीबाट लगानी गर्ने र बाँकी ७५ प्रतिशतले हुने रकम २४ करोड ७५ लाख बैंक अफ काठमाण्डूको सहभागितामा बैंक ऋण प्रवाह गर्नेगरी वित्तीय व्यवस्थापन सम्झौता भएको कम्पनीले जनाएको छ ।