वीरगंज | इस्लामावाद–पाकिस्तानको राजधानी इस्लामावादमा हिन्दु मन्दिर स्थापनाका लागि सरकारले स्वीकृति दिएको छ। राजधानी विकास प्राधिकरण (सिडीए) ले हिन्दु समुदायलाई सहरमा प्रस्तावित कृष्ण मन्दिर बनाउने अनुमति दिएको हो।
सत्तारुढ पाकिस्तान तहरिक–ए–इन्साफ (पिटीआई) पार्टीका अल्पसंख्यक समुदायका सांसदले सहरमा पहिलो हिन्दू मन्दिर निर्माणको दिशामा यो निर्णय महत्वपूर्ण कदम भएको उल्लेख गर्दै स्वागत गरेको छ।
सिडीएले इस्लामावादको हिन्दु पञ्चायतका अध्यक्षलाई पत्र लेख्दै मन्दिर, सामुदायिक भवन र श्मसान बनाउन सशर्त अनुमति दिइएको जनाएको छ। यो मन्दिर इस्लामावादको सेक्टर एच ९२ मा बनाइने जनाइएको छ।
सिडीएको पत्रका अनुसार मन्दिर ७ फिटभन्दा अग्लो बनाउन पाइनेछैन। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफको सरकारले सन् २०१७ मा हिन्दुमन्दिर निर्माणका लागि जग्गा दिएका थिए। तर केही धार्मिक संस्थाको विरोधका कारण निर्माण रोकिएको थियो।