विराटनग। परीक्षणको दायरा खुम्चिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको छ । अधिक संक्रमण फैलिएको प्रदेश राजधानी विराटनगरमा समेत संक्रमितको संख्या घटेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर जम्मा ९२ जना संक्रमित थपिएका छन् । विराटनगरमा जम्मा दुई जनामा संक्रमण पुष्टि भएको छ ।
जम्मा ४९२ जनाको पीसीआर परीक्षण हुँदा ३२ महिला र ६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेशभर दैनिक एक हजार हाराहारीमा परीक्षण हुँदै आएकोमा केही दिनयता परीक्षणको दर घटेको छ । प्रदेशमा हालसम्म १ लाख ९५ हजार ३३१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । शनिबार प्रदेशका विभिन्न आइसोलेसन र होम आइसोलेसनमा बसेकामध्ये १६८ जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका छन् ।
होमआइसोलेसनबाट १६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८९९ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४७ पुगेको छ ।
प्रदेशका १२२ महिला र २६४ पुरुष गरी जम्मा ३८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिकाले गर्ने परीक्षणमा समेत अहिले कमी आएको छ । महानगरले जैनभवनस्थित केन्द्रबाट स्वाब संकलन गरी कोसी अस्पताल विराटनगरको ल्याबमा पठाउने व्यवस्था मिलाएको छ ।
कोसी अस्पताल आइसोलेसनका संयोजक डा.लक्ष्मीनारायण यादवका अनुसार अहिले फिभर क्लिनिकमा आएका शंकास्पद बिरामीको कोरोना परीक्षण हुँदै आएको छ ।