वीरगंज | देशभर कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा गम्भीर बिरामीको बढेको चाप छ । तर, संक्रमण फैलिएको लामो समय बितिसक्दा यसको उपचार पद्धति पत्ता लागको छैन भने जसका कारण विश्व नै चिन्तित बनेको अवस्था छ । यस्तो अवस्थामा कोभिड—१९ का गम्भीर बिरामीलाई क्लिनिकल ट्रायलको रुपमा रेम्डेसिभिर औषधि र प्जाज्मा थेरापी विधिबाट उपचार गरिँदै आएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा क्लिनिकल ट्रायलको रुपमा प्रयोग गरिएको रेम्डेसिभिर औषधि र प्लाज्मा थेरापीमार्फत उपचार गर्दा ४ दशमलव ८ प्रतिशतलाई मात्रै साइड इफेक्ट भएको पाइएको बताएको छ । कोभिड–१९ संक्रमितको उपचारका लागि रेम्डेसिभिरलाई विश्व स्वास्थ्य संगठनले प्रभावकारी नभएको पुष्टि गरिसकेको अवस्थामा परिषद्को अध्ययनले भने फरक नतिजा देखाएको हो ।
नेपालमा गम्भीर लक्षणसहितका बिरामीको उपचारमा सो औषधिको प्रयोग भइरहेको छ भने संक्रमितको संख्या बढेसँगै कालोबजारीमा समेत धमाधम बिक्री भइरहेको छ । गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधि सेवन गराए पनि कतिपयको ज्यान जोगाउन नसकिएको विश्व स्वास्थ्य संगठनको भनाइ छ । यस औषधिको सेवनपछि बिरामीलाई भेन्टिलेटरमा लैजान नपर्ने, चाँडै निको हुने भनिएपनि पछिल्ला अध्ययनले त्यस्तो नदेखाएको संगठनको भनाइ छ ।
यो पनि…
बजारमा रेम्डेसिभिरको हाहाकार, ६ हजार ७ सय पर्ने औषधिलाई २२ हजार
यो अवस्थामा रेम्डेसिभिर औषधिको प्रभावकारिताको बारेमा परिषद्को अध्ययनको फरक नतिजा आएपछि अलमलको अवस्था सिर्जना भएको जनस्वास्थ्यविद्हरुको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यसबारे विस्तृत अध्ययन गरेर सरकारले धारणा सार्वजनिक गरिदिए बिरामीलाई सहज हुने प्रतिक्रिया दिए ।
नेपालमा संक्रमण दर तीव्र हँुँदा बिरामी र मृतकको संख्या बढ्दै गएपछि लक्षणको आधारमा औषधि उपचार हुँदै आएको छ । विश्वभर कोरोना संक्रमण भएर गम्भीर भएका बिरामीलाई रेम्डेसिभिर र प्लाज्मा थेरापीमार्फत उपचार हुँदै आएको छ । कतिपय देशहरुले अस्पतालहरुलाई रेम्डेसिभिर र प्लाज्मामार्फत गम्भीर बिरामीको उपचार गर्ने अनुमति लिइसकेका छन् ।
सुरुमा नेपाल राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल ट्रायलको रुपमा रेम्डेसिभिर औषधि १२ वटा अस्पतालमा ट्रायलको रुपमा चलाएको थियो । हाल भने ५० भन्दाबढी अस्पतालहरुले कोभिड—१९ का गम्भीर बिरामीलाई रेम्डेसिभिर सेवन गराउँदै आएका छन् ।
परिषद्को अध्ययनले रेम्डेसिभिर र प्लाज्मा थेरापीको साइड इफेक्ट कम पाइएको बताउँदै गर्दा विश्व स्वास्थ्य संगठनले भने प्रभावकारी नभएको भनिसकेकाले चाँडै औषधिको साइड इफेक्टसँगै प्रभावकारीताको बारेमा विस्तृतमा अध्ययन गरेर जनतालाई जानकारी दिन जरुरी भएको एक जना जनस्वास्थ्यविद्ले जोड दिए ।
क्लिनिकल ट्रायल रहेको औषधिको साइड इफेक्ट र प्रभावकारीता फरक कुरा भएकाले जनतामा सही सूचना नपुगको खण्डमा समस्या सृजना हुनसक्ने जनस्वास्थ्यविज्ञहरुले बताएका छन् ।
देशका विभिन्न अस्पतालमा रेम्डेसिभिर र प्लाज्मा थेरापीमार्फत उपचार गराएका ४ दशमलव ८ प्रतिशत प्रतिशत बिरामीमा मात्रै साइड इफेन्ट देखिएको अध्ययनमा संलग्न प्रा.डा जनक कोइरालाले बताए । परिषद्को अध्ययन अनुसार सेप्टेम्बरसम्मको तथ्यांकलाई आधार मान्दा कोभिड—१९ का ३ सय ५५ जना गम्भीर बिरामीलाई रेम्डेसिभिर औषधि सेवन गराउँदा ४ दशमलव ८ प्रतिशतभन्दा कमलाई मात्रै साइड इफेक्ट भएको छ । सो औषधिले साइड इफेक्ट गरेका बिरामीले औषधि सेवन गर्न छाडेपछि निको भएको अध्ययनले देखाएको प्रा.डा कोइरालाले बताए ।
कोभिड—१९बाट मुक्त भएकाहरुले हत्त्पत्त प्लाज्मा थेरापी दिन मान्दैनन् । तर पछिल्लो समयमा कोरोनामुक्त भएका केही व्यक्तिहरु प्जाज्मा थेरापी अभियान संचालन गरेर गम्भीर बिरामीको ज्यान जोगाउन लागि परेका छन् ।
देशका विभिन्न अस्पतालहरुमा क्लिनिकल ट्रायलको रुपमा प्लाज्मा थेरापीमार्फत उपचार गरेका ९२ जना मध्ये २ जनालाई साइड इफेक्ट देखिएको डा कोइरालाले बताए । आइसीयू, भेन्टिलेटर र अक्सिजनको आवश्यक पर्ने बिरामीलाई रेम्डेसिभिर औषधि र प्लाज्मा थेरापी दुवै विधिबाट उपचार गर्दा पनि प्रभावकारी देखिएको अध्ययनले देखाएको उनको भनाइ छ ।
केही बिरामीलाई रेम्डेसिभिर औषधि सेवन गराउँदा मिर्गौला र कलेजोमा समस्या देखिएको थियो । तर सो औषधि सेवन गर्न छाडेपछि मिर्गौला तथा कलेजो समस्या स्वत हटेको उनको दावी छ ।
परिषद्ले १२ सय संक्रमितको तंथ्याङ्क संकलन गरेर विश्लेषण गर्ने काम गरिरहेको पनि प्रा.डा कोइरालाले बताए । ‘अध्ययनको प्रारम्भिक रिपोर्टले रेम्डेसिभिर र प्लाज्मा थेरापीको साइडइफेक्ट कम देखाउँछ,’ उनले भने, ‘अझै विस्तृतमा अध्ययन गरेर दुवैथरी उपचार विधिको प्रभावकारीता बारे थाहा हुन्छ ।’
परिषद्को अध्ययनको आधारमा सरकारले प्लाज्मा थेरापी वा रेम्डेसिभिर औषधिलाई अनुमति दिने भन्ने बारेमा निक्र्योल गर्न सक्ने उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनले रेम्डेसिभिर औषधिको प्रभावकारीता छैन भनिरहँदा नेपालमा सो औषधिको प्रभावकारी बढी र साइडइफेक्ट कम किन ? भन्ने प्रश्नको जवाफमा कोइरालाले अन्य देशमा गरिएको अध्ययन र स्वदेशमा भइरहेको अध्ययनलाई गहन रुपमा अध्ययन गरेर थाहा पाउन कोसिस गरिहेको प्रतिक्रिया दिए ।