शनिबार भारतको विहार राज्यमा हुने तेस्रो चरणको विधानसभाको निर्वाचनलाई लक्ष गरेर नेपालको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
निर्वाचन नसकिएसम्म भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रलाई नेपाली सुरक्षाकर्मीले उच्च निगरानीमा राखेका छन्।
नेपाल तथा भारतीय भूमिमा निर्वाचनलाई लक्षित गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपालमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षा प्रदान गरिरहेको छ। सीमा नाकामा विशेष रेकी गर्दै तथा गस्ती बढाउँदै नेपाल र सशस्त्र प्रहरीले सुरक्षा प्रबन्ध मिलाइरहेका हुन्।
भारततर्फ पनि भारतीय सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएर कडाइ भइरहेको छ। निर्वाचनका समयमा सीमा क्षेत्रमा निगरानी बढाएर कडाइ गर्न भारतीय पक्षले नेपाली सुरक्षाकर्मीलाई पटकपटक आग्रह गरिसकेका छन्।
निर्वाचनमा घुसपैठ नहोस् र कुनै पनि अपराधिक घटना गरेर नेपालतर्फ अपराधी भाग्न नसकुन् भनेर भारतीय पक्षले चुनावका बेला सधैं नेपाली सुरक्षाकर्मीको साथ लिँदै आएको छ।
मोरङसँग सीमा जोडिएको विहारको अररीया जिल्लामा पनि निर्वाचन हुने भएपछि शुक्रबार बिहानैबाट उचित सुरक्षा प्रबन्ध मिलाइएको छ। निर्वाचनका बेला दुई देशबीचको सीमा नाका ७२ घण्टासम्म सिल गर्ने गरिएको छ।
विहारको निर्वाचनले सीमावर्ती क्षेत्रमा पनि प्रभाव पार्ने भएपछि चुनावी सुरक्षालाई ध्यानमा राख्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको छ। विशेष गरेर बिहीबार साँझबाटै सीमामा कडाइ थालिएको छ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले नेपालमा पनि निर्वाचन भएका समयमा भारतीय सुरक्षाकर्मीले सीमामा कडाइ गरेर सहयोग गर्ने गरेका कारण नेपाली सुरक्षाकर्मीले पनि आफ्नो भूमिमा सुरक्षा प्रदान गरेर उताको निर्वाचनलाई सहयोग गरेको बताए।
खड्काका अनुसार सीमा क्षेत्रमा शंकास्पद गतिविधी गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइने छ। भारततिरबाट कसैले छिर्ने प्रयास गरेमा र शंकास्पद तवरबाट कोही आएमा नियन्त्रणमा लिएर कारबाहीका लागि भारतीय प्रहरीको जिम्मा लगाउने तयारी नेपाली सुरक्षाकर्मीको छ।
विहारको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाउन र सुरक्षामा कुनै पनि कमजोर हुन नदिन प्रदेश १ का नेपाल प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्की र सशस्त्र प्रहरी प्रमुख डीआईजी वंशीराज दाहालले निर्देशन दिएका छन्।