‘काठमाडौंको सरकारीदेखि निजी अस्पतालहरूमा बेड खाली थिएनन्, जसोतसो एउटा बेड खाली भएका कारण मेडिसिटी अस्पतालमा भर्ना हुन पाएँ,’ लालले लोकान्तरसँग भने, ‘१३ दिनसम्मको उपचारपश्चात निको भएर कात्तिक १३ गते घर फर्किएँ ।’
चिकित्सकहरूले राम्रो तरिकाले उपचार गरेका कारण आफू मृत्युको मुखबाट फर्किन सफल भएको भन्दै उनी चिकित्सकहरूप्रति आभार व्यक्त गर्छन् । फोक्सोमा निमोनिया भएका कारण उनी सिकिस्त बनेका थिए ।
उनी भर्ना भएकै दिन साढे ४ लाख रुपैयाँ मेडिसिटी अस्पतालको काउन्टरमा धरौटीबापत जम्मा गर्नुपरेको थियो । डिस्चार्ज हुँदासम्म उनले कुल १३ दिनमा ७ लाख ९ हजार ६९७ रुपैयाँ उक्त अस्पताललाई बुझाए ।
त्यही अस्पतालमा उनको उपचार भएपनि सिकिस्त बनेपछि उनलाई काठमाडौंको सरकारी अस्पताल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रिफर गरिएको थियो । केही दिनको उपचारपछि कार्तिक १७ गते डिस्चार्ज भएका उनी १८ गते जनकपुर फर्किएका छन् ।
तर, सरकारी अस्पतालमा समेत उनले १ लाख रुपैयाँ शुल्क बुझाएर आउनु परेको प्रादेशिक अस्पताल जनकपुरका आइसोलेसन संयोजक डा. जामुनप्रसाद सिंहले बताए ।
‘लोक सेवा आयोग पास गरेका तथा नेपाल सरकारको स्थायी कर्मचारी समेत रहेका, त्यसमा पनि कोरोना संक्रमितको उपचारमा संलग्न भएका कारण संक्रमित चिकित्सकलाई पनि उपचारबापतको रकम काठमाडौंको सरकारी अस्पतालमा तिर्नुपर्यो,’ डा सिंहले भने, ‘उहाँको उपचारमा लागेको शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिनका लागि सामाजिक विकास मन्त्रालयमा भनेका छौं, उक्त शुल्क सरकारले व्यहोरिदिने आश्वासन दिएका छन् ।’
यी त केही उदाहरण मात्र हुन् । प्रदेश २ का कोरोना संक्रमित नागरिक होस् वा अन्य प्रदेशका कोरोना संक्रमित उपचारका लागि काठमाडौं जानु पर्दा निजी अस्पताल होस् वा सरकारी अस्पताल, उपचारबापत लाखौं रुपैयाँ तिर्न बाध्य छन् ।
संघीय सरकारले नागरिकले कोरोना संक्रमितको उपचार शुल्क बेहोर्नुपर्ने भनेकाले नागरिकले तिर्न बाध्य बनेका छन् । संघीय सरकारले निःशुल्क नगरे पनि २ नम्बरको प्रदेश सरकारले भने कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार हालसम्म गरिरहेको छ ।
‘जति बेलासम्म कोरोना संक्रमण रहिरहन्छ तबसम्म प्रदेशका जनताको कोरोनाको उपचार निःशुल्क नै रहन्छ भनेर प्रदेश सरकारले पटक–पटक घोषणा मात्र गरेका छैनौं, मन्त्रिपरिषद्बाट निर्णय नै गरेर कार्यान्वयन समेत गर्दै आएका छौं,’ सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडीले लोकान्तरसँग भने, ‘हाम्रो प्रदेशमा उपचारका लागि कुनै पनि नागरिकले शुल्क तिर्नु पर्दैन ।’
विकास बजेट नै कटौती गर्नुपरे पनि गरिने भन्दै उनले कोरोना संक्रमितको उपचार निःशुल्क नै गर्ने बताए ।
हालसम्म कति खर्च भयो त्यो बारे आफूलाई कुनै जानकारी नरहेका र मन्त्रालायका सचिव वा लेखा अधिकृतलाई सोध्नु पर्ने उनी बताउँछन् ।
प्रदेश सरकारले सञ्चालन गरेको प्रादेशिक अस्पताल जनकपुरको कोभिड आइसोलेसनमा हालसम्म करीब ५ करोड रुपैयाँ जति खर्च भएको आइसोलेसन संयोजक सिंहले बताए ।
‘प्रतिबिरामी प्रतिदिन १३ हजार रुपैयाँ खर्च हुने गरेको छ,’ सिंहले लोकान्तरसँग भने, ‘बढी खर्च बिरामीको औषधि तथा चिकित्सकसहित कर्मचारीको बासमा भैरहेको छ ।’
कोरोना संक्रमित बिरामीको ब्लड टेस्ट, एक्स रे, सिटी स्क्यानदेखि विभिन्न किसिमका जाँचहरू निःशुल्क हुन्छ । कुनै–कुनै जाँच गराउन काठमाडौं समेत पठाउनुपर्छ तर त्यसका लागि पनि बिरामीबाट भने शुल्क लिने गरिएको छैन । ७ हजार रुपैयाँसम्मको जाँच प्रतिबिरामी लाग्ने गरेको छ । उक्त शुल्क प्रदेश सरकारले व्यहोरिरहेको छ ।
त्यसैगरी बिरामीका लागि खाना र नास्ता निःशुल्क छ । आईसीयू चार्ज निःशुल्क छ । प्रतिदिन १५ लिटर प्रतिबिरामी अक्सिजन मात्रै लाग्ने गरेको सिंहले बताए ।
प्रतिदिन प्रतिबिरामी अक्सिजन शुल्क मात्र ४ हजार रुपैयाँ लाग्ने गरेको छ ।
कोरोना संक्रमित बिरामीको औषधिमा सबैभन्दा बढी खर्च हुने गरेको उनले बताए । १ हजार रुपैयाँ प्रतिभाइल मूल्य पर्ने ‘मेरोपेनम’ सुई दिनमा ३ पटक, ५ सय रुपैयाँ प्रतिभाइल मूल्य पर्ने ‘भेन्कोमाइसिन’ सुई दिनमा ४ पटक, ७ सय रुपैयाँ प्रतिभाइल ‘ड्यूरेटाज’ दिनमा ३ पटक, १ हजार रुपैयाँ प्रतिभाइल मूल्य पर्ने ‘एलएमडब्ल्यू हेपेराइन’ सुई दिनमा १ पटक, ६ हजार ५०० रुपैयाँ प्रतिभाइल मूल्य पर्ने ‘रेम्डेसिभिर’ सुई दिनमा १ पटक ५ दिनसम्म दिनुपरेको सिंहले बताए ।
‘७ देखि ८ दिनसम्म ती औषधिहरू कोरोना संक्रमित बिरामीलाई दिने गरेका छौं,’ सिंहले थपे, ‘यसरी हेर्ने हो भने औषधिमा मात्रै एउटा बिरामीका लागि ४० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ, त्यो सबै खर्च प्रदेश सरकारले व्यहोरिरहेको छ ।’
उपचारमा संलग्न चिकित्सक तथा कर्मचारीहरूलाई होटलमा क्वारेन्टीनमा राख्दा चैतदेखि कात्तिकसम्म प्रतिदिन १ लाख रुपैयाँ खर्च हुने गरेको उनले बताए ।
कात्तिकदेखि केही कम कर्मचारीलाई क्वारेन्टीनमा राखेको पनि प्रतिदिन ५० हजार रुपैयाँ अझै पनि खर्च भइरहेको उनले बताए । ‘जनकपुरको कुनै धर्मशालामा पनि बस्न हामी तयार छौं, धर्मशालामा बस्दा १ महिनामा १ लाख रुपैयाँ लाग्थ्यो तर कुनै पनि धर्मशालाले दिन नमानेका कारण बढी खर्च हुने गरेको छ,’ उनले भने । सबै जोडेर प्रति बिरामी ४० हजारदेखि ४५ हजार रुपैयाँसम्म खर्च भएको हुन सक्ने उनले अनुमान गरे ।
चैत्र ११ गतेदेखि सञ्चालन गरिएको प्रादेशिक अस्पताल जनकपुरको उक्त आइसोलेसनमा कात्तिक २० गतेसम्म कुल ३७४ जना कोरोना संक्रमितको उपचार भएको उनले बताए, जसमध्ये १६ जना बिरामीको मृत्यु समेत भएको छ । निमोनियाका कारण ती बिरामीको मृत्यु भएको उनले बताए । २६ जना बिरामी त्यहाँबाट अन्य अस्पतालमा रिफर भएका छन् ।
‘१६ जना बिरामीको रिक्वेस्टमा हामीले रिफर गरेका थियौं,’ सिंहले भने, ‘बिरामीको जटिलताका आधारमा हामीले १० जनालाई मात्र धरान र काठमाडौं रिफर गरेका छौं ।’
कात्तिक २१ गते पनि कुल १५ जना पुरुष र ४ जना महिला गरी १९ जना कोरोना संक्रमितहरू भर्ना भएका छन् । उनीहरूको प्रदेश सरकारले निःशुल्क उपचार गराइरहेको छ ।