अर्घाखाँचीमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शवलाई साढे ४ महिनापछि गाडिएको खाल्डोबाट निकालेर परिवारले धार्मिक विधिपूर्वक दाहसंस्कार गरेका छन् ।
जिल्लाको मालारानी गाउँपालिका–४ का ५७ वर्षीय यमप्रसाद खनालको क्वारेन्टीनमा बसेको बेला स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो । स्वाब पठाएको केही दिनमा स्वास्थ्यमा समस्या आएपछि उनी उपचारको लागि बुटवल आएका थिए । उपचारपछि घर फर्किने क्रममा जेठ २८ गते उनको बाटोमा मृत्यु भएको थियो ।
मृतकका छोरा (ठूली आमाका) प्रकाश खनालले परिवारमा चौतर्फी दबाब आएपछि शव निकालेर रिडीमा लगेर दाहसंस्कार गरेको बताए । ‘हिन्दू संस्कार अनुसार शव गाड्ने परम्परा छैन । हामी परिवारका सदस्यले ४ घण्टा लगाएर शव खाल्डोबाट निकालियो । शव जस्ताको तस्तै रहेछ । कुहिएको पनि रहेनछ । रिडी घाटमा लगेर शनिवार दाहसंस्कार गर्यो ।’
शव मृतकका परिवारको घरबाट ५०० मिटर टाढा लगेर गाडिएको थियो । खनालको मृत्यु भइसक्दा पनि पीसीआर परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएको स्वाबको नतिजा आएको थिएन । स्वाब रिपोर्ट प्रयोगशालाकै लापरबाहीले प्रयोगशालाभित्रै हराएको थियो । प्रयोगशालामा पठाएको नमूना हराएपछि पुनः मृत शरीरबाट स्वाब निकालेर पीसीआर परीक्षणको लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएको थियो ।
रिपोर्ट ढिला आएपछि गाउँपालिकाकै चौरमा शवलाई २ दिनसम्म खुला आकाशमा राख्न परिवारका सदस्य बाध्य भएका थिए ।
त्यसबेला परिवारले चाहेको स्थानमा दाहसंस्कार गर्न र परम्परा अनुसार काजकिरीया गर्न नपाएपछि ४ महिनापछि शव उत्खनन् गरेर परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारका सदस्य खनालले जानकारी दिए । यता पालिका अध्यक्ष बालकृष्ण आचार्यका अनुसार सरकारको पछिल्लो नीति नियम अनुसार शव निकाल्न गाउँपालिकाले अनुमति दिएको बताए ।