नेपाललाई बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएको छ ।
भदौ दोस्रो हप्ता प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच भएको मौखिक सहमतिमा ५० हजार मेट्रिक टन मल बंगलादेशले दिने र सोही परिमाणमा पछि फिर्ता गर्ने सहमति भएको थियो । तर, सहमतिअनुसार बंगलादेशले अहिले मल नदिने भएको हो ।
बंगलादेशले पैँचोमा मल नदिने भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ ।
मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीका अनुसार पैँचोमा ल्याइने मललाई जीटुजीमार्फ खरिद गर्न मन्त्रालयले मन्त्रिपरिषलमा प्रस्ताव पठाएको हो ।
प्रवक्ता केसीले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा तलमाथि भइरहने हुँदा बंगलादेशले पैँचोमा नभई खरिद गरेर नै लैजान नेपाललाई प्रस्ताव गरेको जानकारी दिए । सोही प्रस्ताव अनुसार मल खरिद गर्ने लागिएको हो ।
यता मल आयातको ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयात अलपत्र पारेपछि देशभर रासायनिक मलको चरम अभाव भएको थियो ।
देशभर मलको चरम अभाव भएपछि कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीमार्फत बंगलादेशसँग पैँचोमा मल माग्न अनुरोध गरेका थिए ।
कृषिमन्त्री भुसालको अनुरोधमा प्रधानमन्त्री ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच पैँचोमा मल उपलब्ध गराउनबारे टेलिफोनमा कुराकानी भएको थियो ।