वीरगन्ज । मुकेश हत्याकाण्ड अब अर्को मोर लिने भएको छ । नेकपा विन्दवासिनी गाउँपालिका कमिटिका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न रहेका मुख्य आरोपीमध्येका एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ माधवन बस्ने ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारी रहेका छन् । तिवारी घटना भएको दिनदेखि फरार रहेका थिए ।
प्रहरीले तिवारीलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनर्वा गाउँमा लुकेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीले एउटा प्रेस विज्ञप्ति जारी गर्दै तिवारी पक्राउ परेको पुष्टि गरेको छ ।
कात्तिक ६ गते नेकपाले विन्दवासिनी गाउँपालि वडा नम्बर ५ स्थित प्रसौनीभाठामा आयोजना गरेको सपथग्रहण कार्यक्रममा पार्टीका दुई गुठ बीच झडप हुँदा गम्भीर रुपले घाइते भएका मुकेश चौरसियाको मृत्यूसँगै तिवारी फरार भएका थिए ।
झडपमा तिवारी पनि घाइते भएका थिए । तिवारीले मुकेश चौरसियामाथि भाटा प्रहार गरेको पीडितका परिवारले दिएको जाहेरीमा उल्लेख छ ।
मुकेशको मृत्युको खबर थाहा लागेसँगै नेशनल मेडिकल कलेजमा उपचाररत तिवारी प्रहरीलाई झुक्याएर तिवारी आफ्ना भाई चिन्टु तिवारीसँगै फरार भएका थिए । चिन्टु अहिलेपनि फरार नै रहेका छन् ।
कात्तिक ७ गते वीरगञ्जस्थित एलएस न्यरो अस्पतालमा उपचाररत चौरसियाको हत्याको आरोपमा परिवारका सदस्यले पूर्व सभासद् राजुकमार गुप्तासहित १२ जना विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । प्रहरीले अहिलेसम्म तिन जनालाई मात्र पक्राउ गरेको छ भने गुप्तासहित अन्य अहिलेपनि फरार छन् ।
पक्राउ परेकामध्ये देवा सहनी र हनिफ मियाँलाई प्रहरीले घटना भएकै दिन राजकुमार गुप्ताको श्रीपुरस्थित घरबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले घटना भएको दिन गुप्तासहित अन्य केहिलाई पक्राउ गरेपनि सहनी र मियाँलाइ हिरासतमा राखेर अन्यलाई सोही दिन रिहा गरेको थियो ।