वीरगन्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा विगत दुई दिनदेखि जम्मा गरिएको ७३ जनाको थ्रोट स्वाबलाई पिसिआर प्रविधि मार्फत परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाले उपलब्ध गराएको जानकारी अनुसार संक्रमण पुष्टि भएका एक जना बाहेक अन्य सबै वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् । जसमध्ये एक जना वीरगञ्जस्थित आर्मी ब्यारेकमा कार्यरत सैनिक हुन् ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १३ र १५ मा दुई/दुई जना र वडा नम्बर १, २, ५, ६, १०, १२ र ३२ मा एक/एक जना संक्रमित थपिएको डाक्टर चौरसियाले बताए । त्यसैगरी विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ का एक जनामा पनि संक्रमण देखिएको छ ।
उता बारा जिल्लाका ३ जना र रौतहटका एक जनामा पनि संक्रमण पुष्टि भएको छ । अस्पतालमा आइतबार बाराबाट आएको २३ जनामा स्वाबलाई परिक्षण गर्दा ३ जनामा संक्रमण देखिएको डाक्टर चौरसियाले बताए ।
थपिएका संक्रमितहरुमा निजगढ नगरपालिका वडा नम्बर ९ का एक जना, कलैया उपमहानगरपालिका वडा नम्बर ४ का एक जना र जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का एक जना रहेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का एक जनापनि संक्रमित भएका छन् ।
थपिएका संक्रमितहरु २६ वर्षदेखि ७५ वर्ष उमेर समुहसम्मका रहेका छन् भने उनीहरुको सिटि भ्यालु १८ देखि ३३ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए ।