वीरगन्ज । कोरोना महमारीका कारण ७ महिनादेखि बन्द रहेका वीरगन्ज महानगरका सामुदायिक विद्यालय सोमबारदेखि खुल्ने भएका छन्।
वीरगन्ज महानगरपालिकामा आइतबार बसेको सरोकारवालाको बैठकले ८, ९ र १० कक्षाको मात्रै पठनपाठन हुने गरी सामुदायिक विद्यालय सोमबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।
नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय सन्चालन गर्ने निर्णय गरिएको नगर प्रमुख विजय सरावगीले जानकारी दिए।
कोरोना भाइरस संक्रमणको महामारीमा विद्यार्थीको स्वास्थ्य जोखिममा पर्ने भएकोले चैत ५ गतेदेखि नै देशभरका विद्यालय बन्द छन्।
महानगरमा रहेका निजी विद्यालय भने सरकारको निर्देशन विपरित र महानगरको अनुमति बेगर आफूखुशी गत बिहीबारदेखि सन्चालनमा आइसकेका छन्।
त्यसैले महानगरपालिकाले आइतबार सरोकारवालाको बैठक राखेर सामुदायिक विद्यालय पनि सोमबारदेखि सन्चालन गर्ने निर्णय गरेको हो।
विद्यार्थीको हात साबुनपानीले धुनका लागि महानगरपालिकाले प्रत्येक विद्यालयमा २ थानका दरले रेडिमेड वास बेसन जडान गरिदिने भएको छ। कक्षा ८ देखि १० सम्मको पठनपाठन हुने सामुदयिक विद्यालय महानगर क्षेत्रमा ३१ छन्।
सोमबारदेखि सन्चालनमा आउने विद्यालयको महानगरपालिकाले एक सातसम्म अनुगमन गर्ने र त्यसकै आधारमा कक्षा ६ र ७ को पनि पठनपाठन सुचारु गर्ने वा नगर्ने विषयमा आवश्यक निर्णय गरिने सरावगीले बताए।
कक्षा १ देखि ५ सम्मको पठनपाठन भने तत्काल सञ्चालन नहुने मेयर सरावगीको भनाइ छ। अन्नपूर्ण पोस्टमा क्रान्ति शाहले खबर लेखेका छन् ।