वीरगन्ज । ग्रीस र टर्कीमा गएको शक्तिशाली भूकम्पमा हालसम्म २२ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।
अमेरिकी जियोलोजियक सर्भेका अनुसार शुक्रवार टर्कीको इजमिर प्रान्तमा गएको ७.० म्याग्निच्युडको भूकम्पको कम्पन एथेन्स र इस्तानबुलसम्म महसुस गरिएको थियो। उक्त भूकम्पले ग्रीसको सामोस टापुमा समेत प्रभाव पारेको थियो।
यता टर्कीले भने ६.६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। टर्कीस अधिकारीहरुका अनुसार भूकम्पमा परि २० जनाको मृत्यु भएको छ भने ७८६ जना घाइते भएका छन्। ग्रीसको सामोसमा भने दुईजनाको मृत्यु भएको छ।
भूकम्प र त्यसपछि परकम्पहरुका कारण इजमिर र सामोसमा मध्यम खालको सुनामी आएको छ। भूकम्पबाट प्रभावित दुवै शहरमा बाढीले समेत जनजीवन प्रभावित पारेको छ।
दुवै शहरमा धेरै भवनहरु भत्किएका छन्। भवनमा फसिरहेकाहरुको उद्धारकार्य जारी रहेको छ।