वीरगंज | फ्रान्समा हालै मात्र भएकाे साम्प्रदायिक घटनाको विरोध गर्दै बंगलादेशमा विशाल प्रदर्शन भएको छ । ‘फ्रान्सेली सामानको बहिष्कार गरौँ, इस्लामविरुद्धको जातीय हिंसाको विरोध गराैँ’ भन्ने नारा लगाउँदै राजधानी ढाकामा ५० हजारभन्दा बढीले प्रदर्शन गरेका हुन् । हालै मात्र फ्रान्समा इस्लाम गुरु पैगम्बर मोहमदको कार्टुनका कारण एकजना शिक्षकको घाँटी रेटी हत्या गरिएपछि युरोपभरि मुस्लिम समुदायविरुद्ध घृणित अभियान चलेको छ ।
यसैबीच फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनले समेत उक्त कार्टुनको प्रतिरक्षा गरेपछि बंगलादेशमा प्रदर्शन चर्किएको हो । राष्ट्रपतिको अभिव्यक्तिलाई लिएर अधिकांश मुस्लिम देशमा विरोध भइरहेको छ । राष्ट्रपतिले शिक्षकको हत्यामाथि प्रतिक्रिया दिँदै ‘कार्टुनको मूल्य खेर नजाने’ बताएका थिए । गत सोमबार टर्कीका राष्ट्रपति एर्डोगनले भने फ्रान्सेली सामान बहिष्कार गर्न आह्वान गरेका थिए ।
बंगलादेशी सञ्चारमाध्यमले जनाएअनुसार बंगलादेशको सबभन्दा ठूला स्लामिक पार्टी इस्लामी आन्दोलन बंगलादेशले आयोजना गरेको उक्त प्रदर्शनमा फ्रेन्च राष्ट्रिपतिलाई समेत कारबाही गर्न माग गरिएको थियो ।इस्लामिक आन्दोलनका नेता अताउर रहमानले म्याक्रोनलाई सैतानको पूजा गर्ने नेता भन्दै आलोचना गरेको बिबिसीले जनाएको छ ।
साउदी अरब, चिचेन्या, पाकिस्तान, कुवेत, जाेर्डन, कतारलगायतका देशमा पनि फ्रान्सेली सामान बहिष्कार गरिएको बिबिसीले जनाएको छ । गत आइतबार मात्रै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘फ्रान्सले इस्लाममाथि आक्रमण गर्न खाजेको’ भन्दै विरोध जनाएका थिए ।
तस्बिर : एपिएफ