उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसले गरेको हवाई आक्रमणमा परी ५० भन्दा बढी टर्कीसमर्थित लडाकूहरूको मृत्यु भएको छ ।आक्रमणमा कैयौं लडाकू घाइते भएका छन् । हवाई आक्रमणपछि उक्त क्षेत्रमा हिंसा बढेको छ ।फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षणस्थललाई आक्रमणको तारो बनाइएको छ । यस आक्रमणपछि इदलिबमा रुस र टर्कीको मध्यस्थतामा भएको युद्धविराम जोखिममा परेको छ ।
सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीले परस्पर विरोधी पक्षलाई समर्थन गरिरहेका छन् । बेलायतमा रहेको मानवअधिकारवादी संस्था सिरियन अक्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार, आक्रमणमा मर्ने लडाकूको संख्या ७८ सम्म हुन सक्छ । कैयौं लडाकूको स्वास्थ्यस्थिति गम्भीर छ र मर्नेको संख्या बढ्न सक्छ ।
मार्च महिनामा युद्धविराम गरिएपछिको यो सबभन्दा ठूलो आक्रमण हो । आक्रमण इदलिब शहरको उत्तरपश्चिममा रहेको हारेम क्षेत्रमा गरिएको हो । युद्धविरामपछि यस क्षेत्रमा सिरियाली सेनाको आक्रमण रोकिएको थियो । त्यहाँबाट १० लाखभन्दा बढी मानिस घर छोडेर गइसकेका छन् । युद्धविरामपछि त्यहाँ पलायन पनि रोकिएको थियो ।
सिरियाका राष्ट्रपति बशर अल असदको समर्थनमा कुनै शक्तिले आक्रमण गरेमा त्यसलाई भरपूर जवाफ फर्काउने अधिकार टर्कीसँग रहेको भनी उसले युद्धविरामका बेलामा बताएको थियो । सिरियामा विगत नौ वर्षदेखि गृहयुद्ध चलिरहेको छ । विद्रोही र जिहादीहरूको कब्जामा रहेको इदलिब नै सिरियाको अन्तिम प्रान्त हो । अन्य क्षेत्रबाट सरकारी सेनाले विद्रोहीहरूलाई लखेटिसकेको छ ।