वीरगंज। स्मार्टफोनमा गीत बजाउने गुगलको एप गुगल प्ले म्युजिक आधिकारिक रुपमा बन्द गरेको छ । गुगलले केही समयअघि नै यो एप बन्द हुने जानकारी गराउदै आइरहेको थियो । यसै सातादेखि एप आधिकारिक रुपमा बन्द भएको हो । गुगलले प्ले म्युजिकको सट्टामा युट्युव म्युजिक प्रयोग गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ । प्रयोगकर्ताले अहिले पनि आफ्नो गुगल प्ले म्युजिकमा भएको संगीतको लाइब्रेरीलाई युट्युव म्युजिक एपमा सार्न सक्ने छन् । गुगल म्युजिक स्मार्टफोनमा भएका गीत बजाउन सकिने र युट्युवमा भएका भिडियोलाई अनलाइनमार्फत अडियो सुन्न सकिने एप हो ।
कम्पनीले गुगल प्ले म्युजिकमा भएको एपलाई युट्युव म्युजिकमा सार्न सकिने व्यवस्था मिलाएको छ । प्रयोगकर्ताले युट्युव म्युजिकमा सार्ने मात्रै नभई गुगल प्ले म्युजिकमा भएको गीतलाई एकै पटक डाउनलोड पनि गर्न सक्नेछन् । त्यसको लागि प्रयोगकर्ताले म्युजिक डट गुगल डट कममा गएर आफ्नो गुगल एकाउन्ट लग इन गर्नुपर्ने हुन्छ । लग इन गरेलगत्तै होमपेजमा गुगल प्ले म्युजिक बन्द भएको जानकारीसहित त्यहाँ रहेका गीतलाई युट्युव म्युजिकमा ट्रान्सफर गर्ने अप्सन देख्न सकिन्छ । युट्युव म्युजिक नेपालमा उपलब्ध नभए पनि प्रयोगकर्ताले तत्काल डिभाइसमा रहेका गीतलाई युट्युव म्युजिकमार्फत बजाउन सक्नेछन् ।
गुगलले अब केवल युट्युव म्युजिक सर्भिस चलाउनेछ । कम्पनीका अनुसार युट्युव म्युजिकको युजर इन्टरफेस प्रयोग गर्न निकै सहज छ ।यदि तपाईं पहिलोपटक युट्युव म्युजिकको एप ओपन गर्नुहुन्छ भने तपाईंको स्क्रीनमा गुगल प्ले म्युजिकका कयौं समानताहरु देख्नुहुनेछ । कम्पनीले युट्युव म्युजिकमा ट्रान्सफर टूल समेत थप गरेको छ । जुन दुरुस्तै गुगल प्ले म्युजिककै समान छ ।यदि तपाईं एण्ड्रोइड टेनमा आधारित नयाँ स्मार्टफोन खरिद गर्नुहुन्छ भने तपाईंले गुगल प्ले म्युजिकको ठाउँमा युट्युव म्युजिक एप प्री-इन्स्टल भएको पाउनुहुनेछ ।