वीरगंज | आर्मेनिया र अजरबैजानबीचको युद्धमा अप्रत्यक्ष रूपमा जोडिएको टर्कीले अजरबैजानको पक्षमा सैनिक पठाउन सकिने बताएको छ । मध्य र पश्चिम एसियामा आफ्नो साम्राज्य विस्तार गर्न खोजिरहेको टर्कीले नागोर्नो–काराबाख क्षेत्रमा नियन्त्रणका लागि आर्मेनिया र जरबैजानबीच भइरहेको लडाइँमा समावेश भएर तेस्रो विश्वयुद्धको जोखिम निम्त्याएको छ ।
अजरबैजानले सैनिक पठाउन अनुरोध गरेमा टर्कीले सहायता गर्न नहिचकिचाउने टर्कीका उपराष्ट्रपति फौत ओकतायले बताए । आर्मेनियाले बाकुको जमीनमा कब्जा गरेको आरोप पनि उनले लगाए । बुधवार सीएनएनसँग कुरा गर्दै ओकतायले फ्रान्स, रुस र अमेरिकाको नेतृत्वको गठबन्धनको आलोचना गरे । यस समूहले नागोर्नो–काराबाख विवाद नसकिए हुन्थ्यो भन्ने चाहना राखेको आरोप उनले लगाए ।
यसैबीच आर्मेनियाको कब्जामा रहेका थप २१ गाउँहरूलाई स्वतन्त्र बनाएको अजरबैजानले दाबी गरेको छ । अहिलेको युद्धमा १३० वटा बस्तीलाई मुक्त गराएको उसले बताएको छ । आर्मेनियाले चाहिँ यो दाबीको खण्डन गरेको छ । आर्मेनियाका प्रधानमन्त्री निकोल पशिनयानले नागोर्नो–काराबाख र वरपरको क्षेत्रमा चलिरहेको युद्धको कूटनीतिक समाधान सम्भव नरहेको बताए ।
टर्कीले सेना पठाउने घोषणा गर्दा रुसले आर्मेनियाको समर्थनमा सेना पठाउनुपर्ने हुन सक्छ । रुसले खुलेर आर्मेनियाको समर्थन गरिरहेको छैन तर टर्की युद्धमा आएमा रुस चुप लागेर बस्न मिल्दैन । आर्मेनिया र रुसिबीच रक्षा सन्धि गरिएको छ र त्यसकारणले ऊ आर्मेनियाको सहायता गर्न बाध्य छ ।रुस र टर्कीले लिबिया र सिरियाको गृहयुद्धमा एकअर्का विरुद्धको पक्ष लिएका थिए । यति हुँदाहुँदै पनि दुई देशबीच व्यापारिक सम्बन्ध कायम छ । अझ अमेरिकालाई समेत चिढ्याउँदै टर्कीले रुससँग एस–४०० क्षेप्यास्त्र प्रणाली किनेको छ ।
युद्धमा आर्मेनियालाई फ्रान्सले खुलेर समर्थन गरेको छ । यसले गर्दा टर्कीसँग उसको विवाद परेको छ । फ्रान्समा आर्मेनियाली मूलका मानिसहरूको संख्या ठूलो छ । युरोपमा भूराजनीतिक रूपमा सबभन्दा शक्तिशाली देश फ्रान्स र एसिया तथा युरोपको सेतुका रूपमा रहेको शक्तिशाली टर्की भिडे भने क्षेत्रीय युद्ध मात्र नभई विश्वयुद्धकै रूप लिन सक्ने बताइएको छ ।