शिबु फिलिप लन्डनस्थित ट्रान्सेन्ड नामक एउटा सानो कम्पनीका संस्थापक हुन्।
उनको कम्पनीले थोक विक्रेताबाट सौन्दर्य सामग्री किन्छ र अनलाइनका माध्यमबाट बेच्छ।विगत डेढ वर्षदेखि उनले हबस्टाफ नामक सफ्टवेयर प्रयोग गरेर कर्मचारीहरूले काम गरेको घण्टा, कओबोर्ड र माउसको चाल र उनीहरूले खोल्ने बेवसाइटहरूबारे निगरानी गरिरहेका छन्।उनको कम्पनीमा भारतमा बसेर काम गर्ने सात कर्मचारी छन्।
लन्डन र भारतबीच समय अन्तर छ। तर यो सफ्टवेयरले “केही मात्रामा भए पनि काममा कर्मचारीलाई उत्तरदायी” बनाउन सहयोग गर्ने उनी बताउँछन्।उनी भन्छन्, “म आफैँलाई थाहा छ, तपाईँ थप १० मिनेट ब्रेक लिनुहुन्छ। त्यसको स्वचालित रूपमा निगरानी हुनु राम्रो हो।”
“स्क्रीनशटहरू हेरेर कुनै पनि काम गर्न कर्मचारीले कति समय लगाइरहेका छन् भन्ने थाहा हुन्छ। उनीहरूले आवश्यक प्रक्रिया पूरा गरिरहेका छन् कि छैनन् थाहा हुन्छ।”
उनी कसैले अपेक्षाभन्दा राम्रो गरिरहेका छन् भने आफूले स्क्रीनशटका तस्बिरहरूको अध्ययन गर्ने र त्यसका आधारमा पूरा समूहका लागि सुधारको सुझाव लिने गरेको बताउँछन्।उनका अनुसार कर्मचारीहरूलाई उक्त सफ्टवेयर प्रयोग भएको छ भन्ने पूर्ण जानकारी रहेको छ।त्यसैले उनीहरू ब्रेकका बेलामा झुक्किएर कुनै बेवसाइट खुलेको छ भने पनि त्यसलाई हेरेर समय नखर्चिने उनी बताउँछन्।
कोरोनाभाइरसका कारण घरबाटै काम गर्ने चलन बढेपछि निगरानी सफ्टवेयरको माग गर्ने रोजगारदाताहरूको सङ्ख्या बढेको छ।अमेरिकामा आधारित हबस्टाफका अनुसार गत फेब्रुअरीयता यूकेमा यसका ग्राहकको सङ्ख्या चार गुणा बढेको छ।स्नीक नामक अर्को कम्पनीले कर्मचारीहरूले काम गरिरहेको ल्यापटपबाट उनीहरूको तस्बिर खिँचेर उनीहरूका सहकर्मीले हेर्न मिल्नेगरी अपलोड गरिदिने प्रविधि ल्याएको छ।
हरेक मिनेटजस्तो तस्बिर खिच्ने भएकाले उक्त एप प्रयोग गर्ने रोजगारदाता हुन् वा रोजगारी गर्ने जोसुकैले एकै खाले अनुभव गर्नसक्ने कम्पनीले बताएको छ।यसका सहसंस्थापक डेल करीले बीबीसीलाई लकडाउनका अवधिमा आफ्ना प्रयोगकर्ताको सङ्ख्या पाँच गुणाले बढेको बताए।उनका अनुसार हाल उक्त एप करिब २० हजार जतिले प्रयोग गरिरहेका छन्।
हालै कार्डिफ विश्वविद्यालय र युनिभर्सिटी अफ साउथ एम्टोनले गरेका अध्ययनले हाकिमहरूमा कामदारहरू “कामचोर” हुने समानखाले डर देखिएका छन्।लडकाउनका अवधिमा काममा त्यस्तो प्रभाव परेको जस्तो भने देखिएको छैन।यद्यपि उक्त अध्ययनका अनुसार हरेक तीनमा एक कामदारले पनि आफ्नो कार्यक्षमतामा कमी आएको महसुस गरेका छन्।तर के प्रविधिले त्यस्ता “कामचोर” कर्मचारीलाई समात्न वा भान्साको टेबलमा बसेर पूरा अवधि काम गर्न बाध्य कर्मचारीलाई सहयोग गर्न सक्ला?
जोश नामक लन्डनका २६ वर्षीय फोटोग्राफर घरैबाट काम गर्नुपर्दा आफ्नो कार्यक्षमतामा कमी आएको मान्छन्।अरूसँग साझेदारी गरिएको आफ्नो फ्ल्याटको भान्सामा एउटा अस्थायी स्टुडियो बनाएर काम गर्नुपर्दा चुनौती भए पनि उनी उत्साहित भएर काम गरिरहेका छन्।
उनी भन्छन्, “कुनै दिन म सबै कुराबाट बाहिर आउनेछु। तर अरूलाई लाग्छ म एकजोडी चप्पल लगाएर घुमिरहेको हुन्छु। म त्यो गरिरहेको हुन्नँ। तर बसेको ठाउँबाट उठेर वाशिङ मशीन खोल्नु वा एक कप चिया बनाउनु खासै गाह्रो कुरा भएन त्यसैले काममा बाधा गर्ने धेरै सहज कुराहरू घरमा हुन्छन्।”
उनी आफ्ना हाकिमहरूले कुनै पनि निगरानी गर्ने सफ्टवेयर प्रयोग नगरेकोमा धन्य महसुस गर्छन्।”त्यस्तो गरिएको दिन उत्साहित हुन अलि गाह्रै हुन्छ। यदि कसैले मेरो कार्यक्षमताको निरन्तर निगरानी गरिरहेको छ भन्ने थाहा भयो भने मलाई नराम्रो लाग्नेछ।”
कतिपय हाकिमहरू निगरानी गर्ने सफ्टवेयरहरू प्रयोग कार्यक्षमता कायम राख्न उपयुक्त हुने तर्क गर्न सक्छन्।चार्टर्ड इन्टिट्युट अफ पर्सनल एन्ड डेभलपमेन्ट (सीआईपीडी) ले गरेको एउटा अनुसन्धानले भने कार्यस्थलमा गरिने निगरानीले विश्वासको सङ्कट पैदा गर्नसक्ने सुझवा दिएको छ।