तेहरान । इरानमा सोमबार कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ।सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबार मात्रै २७२ जनाको मृत्यु भएको छ भने चार हजार २०० सङ्क्रमित थपिएका छन्।
अरु कतिपय देशहरुमा झैं इरानमा पनि कोरोनाभाइरसको महामारीविरुद्ध सरकारले चालेका कदम विवादित बनेका छन्।इरानमा दैनिक मृत्यु भएकाहरुको सङ्ख्या यो महिनामा तीन अंकमा पुगेको छ।
त्यो सङ्ख्या पनि दिनप्रतिदिन वृद्धि हुदै आएको अधिकारीहरुले जनाएका छन्।मृत्यु हुने र सङ्क्रमित हुनेहरुको सङ्ख्या बढ्दै गएपछि सरकारी अधिकारीहरुले राजधानी तेहरानको दैनिकीलाई नियन्त्रण गर्ने कडा व्यवस्थाको घोषणा गरेका छन् ।
हालै पूनः सञ्चालनमा ल्याइएका विश्वविद्यालय, विद्यालय, पुस्तकालय, मस्जीद, चलचित्र हल, संग्रालय, व्युटिपार्लर तथा सैलुनलगायतलाई फेरि बन्द गराइएको छ।
सरकारले शनिबार मात्रै सार्वजनिकस्थलमा वा घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन निर्देशन जारी गरेको छ। निर्देशनको उलङघन गरेमा दण्डित गरिने चेतावनी पनि सरकारी अधिकारीहरुले दिएका छन् ।
सरकारका प्रवक्ता अलि राबिएइले कारोनाभाइरसको सङ्क्रमण पुष्टि भएकाहरुका आधारमा सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्यलाई पनि कडाईका साथ अगाडि बढाइने प्रतिबद्धता जनाउनुभएको छ ।
सरकारले शुरुमा घरमै बस्न, बाहिर ननिस्कन, मास्क लगाउन, सामाजिक दुरी कायम गर्न भन्दै गरेको अपिललाई धेरैले पालना गरेपनि पछिल्लो समयमा फेरि उल्लङ्घन भएकाले सङ्क्रमण दर थप बढेको सरकारी अधिकारीहरुको भनाइ छ ।
विश्वभरी महामारीको रुपमा कोरोनाभाइरस फैलिन लागेका वेला शुरुमा इरान महामारीको केन्द्रविन्दु जस्तै भएको थियो।
सङ्क्रमित र मृत्यु भएकाहरुको सङ्ख्याका आधारमा इरान धेरै अगाडि रहेको थियो। तर अहिले भने दैनिक सयौँको मृत्यु र हजारौ सङ्क्रमित भएपनि इरान बढी प्रभावितहरुको सूचीमा १३औ क्रममा रहेको छ।इरान अहिलेसम्म पाँच लाख चार हजार २८१ जना सङ्क्रमित भएका छन् भने २८ हजार ८१६ जनाको कोरोनाका कारण मृत्यु भएको छ।