एजेन्सी । भारतमा ३५ औं दिनमा १० औं मिसाइल परीक्षणको तयारी गरिएको छ । सो तयारीअनुसार आगामी हप्ताको सुरुमा ‘निर्भया’ क्षेप्यास्त्र (मिसाईल) परीक्षण गर्ने भारतीय रक्षा अनुसन्धान एवम् विकास संगठन (डिआरडी)ले जनाएको छ । डिआरडीका अनुसार अर्को हप्ताको सुरुमै ८ सय किलोमिटर सम्म मार हान्न सक्ने सब सोनिक क्रुज मिसाइलको परीक्षण गरिने छ ।
भारतीय मिडियाहरुका अनुसार सेना र नौसेनाले औपचारिक रुपमा प्रयोग गर्नुअघि बुस्टर मिसाइललाई अन्तिम रुप दिइनेछ । पछिल्ला ३५ दिनमा भारतको प्रमुख रक्षा संगठनद्वारा परीक्षण गर्न थालिएको यो दसौं मिसाइल हो । उक्त संगठनले ‘मेड इन इन्डिया’ रणनीतिको हिस्साका रुपमा परमाणु र परम्परागत मिसाइलहरुको विकास तिव्र गतिमा गर्ने कोसिस गरिरहेको छ ।
रिपोर्टअनुसार डिआरडीले करिब एक महिनाको प्रत्येक चौथ दिनमा एउटा मिसाइलको परीक्षण गरिरहेको छ । पछिल्ला महिना चीनसँगको सीमामा विवाद उत्पन्न भएसँगै डिआरडीले मिसाइल परीक्षणलाई तिव्रता दिएको र वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट पछि नहट्ने चीनको अडानका बीच उसको सक्रियता बढेको प्रस्ट हुन्छ ।