चीनमा एउटा शिशुकक्षाका २५ विद्यार्थीलाई विष खान दिएको र एक जनाको ज्यान लिएको अभियोग लागेकी एक शिक्षिकालाई मृत्युदण्ड सजाय सुनाइएको छ ।ज्याओजू सहरस्थित शिशुशालामा बिहानको खाजा खाएपछि बिरामी परेका बालबालिकालाई अस्पताल लग्नुपरेपछि शिक्षिका वाङ युनलाई पक्राउ गरिएको थियो ।
अदालतका अनुसार वाङले आफ्नी एक सहकर्मीको जिम्मामा भएका विद्यार्थीहरूको खानामा सोडीअम नाईट्राईट मिसाइदिएको ठहर गरेको छ ।ती सहकर्मीसँग विवाद भएपछि प्रतिशोध लिन उनले त्यसो गरेको बताइएको छ ।
गत वर्ष मार्च महिनामा उक्त घटना भएपछि पूरै चीन स्तब्ध भएको थियो। ती शिक्षिकाले विष हालेको आरोप लागेपछि प्रहरीले अनुसन्धान गरेको थियो ।सोमवार स्थानीय अदालतले उक्त मुद्दा टुङ्ग्याउँदै उनलाई मृत्युदण्ड सुनाएको ग्लोबल टाईम्स पत्रिकाले प्रकाशित गरेको समाचारमा उल्लेख छ।