अफ्रिकी राष्ट्र कंगोमा शान्ति स्थापनार्थका लागि खटिएका एकजना सैनिक जवानलाई क्याप्टेनले निर्घात रुपमा कुटपिट गरेको घटनामा जङ्गी अड्डाले छानविन सुरु गरेको छ ।तीजना क्याप्टेन (सहसेनानी) इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले जवान नवराज माझीलाई निर्घात रुपमा कुटपिट गरेका हुन् ।
मिसनमा खटिएका सैनिक जवानलाई ३ जना क्याप्टेन (सहसेनानी) ले कुटेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार एक विज्ञप्ति जारी गरी घटनाप्रति मुख्यालयको ध्यानाकर्षण भएको जनाउँदै छानबिनको प्रकृया सुरु भईसकेको जनाएको छ । निर्देशनालयका अनुसार छानबिनका लागि जेष्ठ सेनानीको नेतृत्वमा ‘कोट अफ इन्क्वायरी’ समेत गठन गरिएको छ ।
‘सैनिक आचरण र मर्यादा विपरीत भएको घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाथि जेष्ठ सेनानीको नेतृत्वमा छानबिनको प्रकृया सुरु गरिएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।ज्वाला गणबाट कंगोको मिसनमा खटिएका जवानहरुमाथि गत बिहीबार राति ३ जना सहसेनानीले कुटेका हुन् । सार्वजनिक तस्बिरमा एक जना जवानको शरीरमा गहिरो नीलडाम छ ।
सैनिक जवानहरुले रातमा होहल्ला गरेर मर्यादा नाघेपछि सम्झाउँदा घटना भएको जानकारी भएपनि यकिन भईनसकेको सैनिक स्रोतले जनाएको छ । कंगोमा जवान कुटिएको घटनाबारे जानकारी पाए लगतै प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि छानबिन गर्न निर्देशन दिएका थिए ।