वीरगंज | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले तातोपानी नाका खोल्न चीन सकारात्मक रहेको बताएका छन् । राजदूत र वाणिज्य दूतबीचको वार्तापछि चीन केही साताभित्रै तातोपानी नाका सञ्चालनमा ल्याउन तयार भएको उनको भनाइ छ ।
सिन्धुपाल्चोकको जम्बु बजारमा २५ असारमा पहिरो गएपछि नाका पूर्ण रुपमा बन्द छ। चीनले सीमा नाकासम्म गएर सामान ल्याउने २९ नेपाली कर्मचारीको पिसिआर परीक्षण गर्ने जानकारी दिएसँगै नाका खोल्न लागेको आकलन गरिएको हो ।
चीनले बिहीबार नेपाली कामदार र ट्रक ड्राइभरको पिसिआर परीक्षण गर्ने जानकारी दिए पनि पानी परेका कारण रोकिएको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।
चिनियाँ पक्षले ती कर्मचारीको पिसिआर परीक्षण शुक्रबार गर्ने तयारी गरेको छ । पिसिआर परीक्षणमा कामदारमा कोभिड–१९ देखिएको खण्डमा भने नाका खोल्ने काम केही साताका लागि पर सर्ने बताइएको छ ।
चीनमा कोरोना देखिएपछि गत १३ माघदेखि सो नाका बन्द भएको थियो । साढे दुई महिनापछि २६ चैतमा खुलेको थियो । नाका खोल्नुअघि चीनले नेपाली कामदारको पिसिआर परीक्षण गरेको थियो ।