लण्डन । बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको पुष्टि प्रधानमन्त्री बोरिस जोनसनले गरिसकेका छन् ।कोरोनाको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न बेलायतमा जारी लकडाउन अर्को ६ महिनासम्म रहनसक्ने बताइएको छ ।
यद्यपि, नागरिकहरुले लकडाउनको विरोध गरिरहेका छन् । बेला बेलामा नागरिकहरु ठूलो संख्यामा सडकमा उत्रिएर प्रदर्शन पनि गरिरहेका छन् । प्रदर्शनलाई कमजोर बनाउन सरकारले १० हजार पाउण्डस्टर्लिङसम्म जरिवाना हुनसक्ने चेतावनी दिइसकेको छ ।
जारी प्रतिबन्धमा खेलकूद गतिविधि र वैवाहिक समाराेह आयोजना गर्न नपाउने प्रावधान पनि समेटिएको छ ।
मंगलबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री जोनसनले भने, ‘फुटबल प्रतियोगिताबारे भने पुनः विचार गर्न सकिनेछ । अन्तिम संस्कारमा ३० भन्दा बढी मानिस सहभागी हुन पाउनेछैनन् । मास्क अनिवार्य लगाउनुपर्नेछ ।’लण्डन र देशका बाँकी भागहरुमा चल्ने ट्याक्सी सञ्चालनलाई लिएर नयाँ नियमहरु जारी हुनसक्ने सम्भावना रहेको छ ।