भारतीय चलचित्रका विख्यात अभिनेता अमिताभ बच्चनले एसिड पीडितको न्यायका लागि अभियानरत एक नेपालीको कामलाई हृदयदेखि सराहना गर्दै बधाई दिनुभएको छ ।बलिवुड अभिनेता अमिताभ बच्चनले एसिड पीडितको न्यायको लागि संघर्षरत अभियन्ता उज्ज्वल विक्रम थापालाई बधाई दिनुभएको हो ।
एसिड छ्यापेर घाइते भएकाहरुको उपचार र न्यायका लागि थापा लामो समयदेखि अभियानरत हुनुहुन्छ । थापाले दोषीलाई दण्डका कठघरामा ल्याउन कानुन निर्माणका लागि पनि दबाब दिने काममा पनि क्रियाशील हुनुहुन्छ ।दोषीलाई दण्डको प्रक्रियामा ल्याउनका लागि पहल गरेको भन्दै अभिनेता बच्चनले नेपालका थापालाई बधाई दिनुभएको हो ।
सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत् अभिनेता बच्चनले थापालाई बधाई दिँदै लेख्नुभएको छ, ‘एसिड पीडितको लागि तपाईँले गर्नुभएको संघर्ष र कठिन कार्यले शेरवुड कलेजमात्र नभई तपाईँको देश नेपाललाई पनि गौरव महशूस गराएको छ ।’बच्चनले थापालाई यस्तै राम्रा सामाजिक कामलाई निरन्तरता दिन शुभेच्छा पनि दिनुभएको छ ।
थापाले गरेको यस्तै काम र देशभरका एसिड पीडितको दबाबपछि प्रधानमन्त्री केपी ओलीले भर्खरै देशका अध्यादेशबाटै भएपनि एसिड आक्रमणका दोषीलाई कार्वाही गर्नका लागि कानुन ल्याउने बचन दिनुभएको थियो ।