वीरगञ्ज। नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरुले फेरी मारपिट गरेका छन् । केहि महिना अगाडी एउटा चिकित्सकसँग झगडाको कारणले विवादमा मुछिएका डा. उदयनारायण सिंहले फेरी अर्का चिकित्सकसँग मारपिट गरेको घट्ना बाहिर आएको छ ।
डा. सिंहसहित अस्पतालका अन्य तिन चिकित्सकले मारपिट गरेपछि पिडित चिकित्सकले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएपछि उनीहरुमाथि कारवाही हुनेभएको छ ।
नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव डा.उदयनारायण सिंह, नारायणी अस्पतालमै कार्यरत डा.आरके सिंह र डा.दीपक चौरसियालाई कारबाहीका लागि जिल्लामा झिकाउन वडा प्रहरीलाई निर्देशन दिइएको स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले पर्साका ३ जना चिकित्सकलाई कारबाहीका लागि कार्यालयमा झिकाउन वडा प्रहरी कार्यालयलाई निर्देशन दिएको हो ।
वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले तलबभत्ता बृद्धि लगायतको माग राख्दै गरिरहेको आन्दोलनका बिषयमा आइतबार भएको छलफलमा सहभागी चिकित्सक डा. विजयकुमार महतोलाई कुटपिट गरेको भन्दै तीनै जना चिकित्सकलाई कारबाहीका लागि जिल्लामा झिकाउन पत्र काटिएको हो ।
चिकित्सकको संगठनमा छलफल सकेर निस्कन लाग्दा कुटपिट गरेको भन्दै डा. बिजयकुमार महतोले उजुरी दिएकाले उनीहरु तीनै जनालाई जिल्ला झिकाउन लागिएको स्रोतको दाबी छ ।
महतोले आफूमाथि कुटपिट भएको भन्दै आवश्यक शान्ति सुरक्षा कायम गरी तीनै जनालाई कारबाही गर्न भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका थिए ।
जिल्ला प्रशासन कार्यालयले कुटपिटमा संलग्नलाई आवश्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएपछि तीनै जनालाई जिल्ला झिकाएर कारबाही प्रकृया अघि बढाउन लागिएको हो ।
डा.उदयनारायण सिंह यसअघि पनि चिकित्सकहरुसँग हातपात भएको विषयमा मुछिएका थिए । कोरोना भाइरस संक्रमण रोकथाम र संक्रमितको उपचारमा डा सिंह सकृय रुपमा खटे पनि आफ्नै सहकर्मी माथी हातपातमा उत्रनुले उनको गरिमा घटाइ दिएको छ ।
आफूलाई सामूहिक रुपमा नै चिकित्सकहरुको अगाडि कुटपिट गरेको भन्दै एडभान्स अस्पतालमा कार्यरत महतोले निवेदन दिएका हुन् ।यो समाचार यात्राडेली बाट सभार गरिएको छ।