वीरगंज । नेपालमा कोरोना संक्रमितको संख्या प्रतिदिन पाँच सयभन्दा बढी थपिइरहेकाे छ। संख्या थपिएसँगै पछिल्लो समय देखिएका संक्रमितमा गम्भीर लक्षण पनि देखिन थालेका छन्।
तर केहीमा भने कोरोना पुष्टि मात्र भएका छन्, उनीहरुमा लक्षण भने देखिएकाे छैन। लक्षणसहितका संक्रमित कोभिड अस्पतालका आइसोलेसनमा छन्। कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएका संक्रमित भने सरकारकाे स्वास्थ्य निर्देशिकाअनुसार होम आइसोलेसनमै छन्।
धरान उपमहानगरपालिकामा होम आइसोलेसनमा बस्नेको संख्या २६ पुगेको छ। संक्रमितलाई दैनिकजसो टेलिफोनको माध्यमबाट सम्पर्क गरिरहेको स्वास्थ महाशाखाका प्रमुख उमेश मेहताले बताए।
ज्वरोको अवस्था वा लक्षण कस्तो देखियो भनी बारम्बार सोध्ने गरिरहेको पनि उनले जानकारी दिए। मेहताले भने,’ दिनमा संक्रमितको ज्वरो कति आउँछ र खोकी कति पटक लाग्छ त्यसको रेकर्ड राख्ने गरेको छैन।
हामीले संक्रमितलाई गाह्रो हुने बितिकै अस्पताल भर्ना गर्ने गरेको छ।’ धरान वडा १० की ३१ वर्षीय महिला यतिखेर होम आइसोलेसनमा छिन्। उपमहानगरको स्वास्थ्यकर्मीले नियमित फोन गरे पनि ज्वरो र खोकीको विवरण नसोधेकी संक्रमित बताउँछिन्।
स्वास्थ्यकर्मीले सुरुवाती दिनमा लक्षण कस्तो छ भनेर सोध्ने गरेको र गाह्रो हुने साथ एम्बुलेन्स लिएर आउँछौं लिएर जान्छौ भन्ने गरेको उनले सुनाइन्। घरमा छुट्टाछुटै भान्सा र शौचालयको प्रयोग गरिएको उनको भनाइ छ। घर-वरिपरि र समाजको मानिसले पूर्ण रुपमा सहयोग गरिरहेको उनले बताइन्।