प्रादेशिक अस्पताल जनकपुरमा कुनै बिरामी उपचारका लागि पुग्दा अस्पताल व्यवस्थापन तथा त्यहाँ कार्यरत चिकित्सकहरु अहिले कोरोना महामारीको बिकट परिस्थिती रहेको भन्दै बिरामीलाई त्यहाँबाट उपचार नै नगरि फर्काइरहेका घटनाहरु दैनिक सुन्न र हेर्न पाईन्छ ।
चिकित्सकले गम्भीर प्रकृतिका बिरामीको समेत उपचार गर्न नमान्दा कयौं बिरामीले अकालमा ज्यान समेत गुमाईसकेका छन् ।
तर, त्यहि प्रादेशिक अस्पतालमा काम गर्ने चिकित्सकहरु भने आ–आफ्नो निजि क्लिनिकहरु अस्पताल छेउमै सञ्चालन गरेर बिना कुनै मापदण्ड दैनिक सयौं बिरामीलाई पैसा लिएर चेकजाँच गर्दा कोरोना सर्दैन कि ?
जनकपुरधामस्थित अस्पताल रोडमा सञ्चालित निजि क्लिनिकहरुले लकडाउन र सामाजिक दूरीको धज्जी उडाईरहेको देखिएको छ । यी क्लिनिकहरुले प्रहरी प्रशासनको लापरवाहीको फाईदा उठाउँदै कोरोना महामारीलाई झन फैलाउने तर्फ उन्मुख देखिएका छन् ।
यहाँका अधिकांश क्लिनिकहरु दैनिक बिरामीको चापले खचाखच भडिएको देखिन्छ । कारण एउटै छ, उनीहरु पैसा तिरेर त्यहाँ उपचार गराउँछन् ।
कोरोना भाइरसको महामारीबाट बच्न विश्वव्यापी रुपमा लकडाउन र सामाजिक दूरी बाहेक अन्य कुनै विकल्प नरहेको सर्वविवदित रहेपनि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामका निजि क्लिनिकहरुमा लकडाउन र सामाजिक दूरीको पूर्ण पालना अझै पनि हुन सकेको छैन ।
जनकपुरधामको अस्पताल रोडमा सञ्चालित निजि क्लिनिकहरुमा दैनिक सयौं व्यक्तिहरुको भीड लागेको हुन्छ । त्यहाँ न त लकडाउनको कुनै मापदण्ड पालना गरिन्छ न सामाजिक दूरीको कुनै ख्याल । क्लिनिकको अगाडी सयौं मानिस एकै ठाउँमा जम्मा भएका हुन्छन् । त्यहाँको भीडभाड न त स्थानीय प्रशासनले रोक्न सकेको छ न त जनप्रतिनिधिले नै ।
बेलाबखतमा प्रहरी पुगेर लकडाउन कार्यान्वयन गराएको जस्तो देखाए पनि कडाई भने गर्न सकेको छैन । एकातर्फ दिनप्रतिदिन कोरोनाको संक्रमितको संख्या निरन्तर थपिदैं गईरहेको छ भने अर्कोतर्फ लकडाउन झन खुकुलो बन्दै गईरहेको देखिएको छ ।thenepaltop