बीरगन्ज। रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गते बिहीवारबाट सर्वसाधारणका लागि ६३ लाख कित्ता आईपीओ विक्री खुला गरेको छ ।
उक्त कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरको कुल ६३ लाख कित्तामध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित पश्चात बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।
कम्पनीको आईपीओ विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले कोरोना महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा गरिएपनि लगानीकर्ताले मेरो शेयर सफ्टवेयरबाट आईपीओ भर्न सक्ने बताएको छ ।
प्राथमिक बजार पूर्ण प्रविधिमैत्री बनिसकेको र ७ लाखभन्दा बढी लगानीकर्ताहरुले मेरो शेयर खाता खोली घरमै बसेर आवेदन गर्न सक्ने अवस्था रहेकाले निषेधाज्ञाले आईपीओ विक्रीमा कुनै असर नपर्ने विक्री प्रबन्धकको भनाइ छ ।
उक्त आईपीओ खरीदका लागि छिटोमा भदौ ८ गते र ढिलोमा भदौ २२ गतेसम्मको समय तोकिएको छ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्म माग गर्न सकिनेछ ।
प्राथमिक बजारमा सार्वजनिक निष्कासनका क्रममा आस्वा सेवा अनिवार्य गरिएकाले आईपीओ खरीदका लागि आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर खाता मार्फत घरमै बसेर आवेदन दिन सकिनेछ ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित उक्त कम्पनीले आईपीओ विक्री गर्न साउन १६ गते अनुमति पाएको थियो । हाल रू. १ अर्ब ४७ करोड चुक्तापूँजी रहेको उक्त कम्पनीले बीमा समितिले तोके बमोजिम रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ जारी गरेको हो ।
आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड पुग्नेछ । आईपीओ पश्चात कम्पनीमा शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत कायम हुनेछ ।