बीरगन्ज।प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बुधबार सो विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले आफू यसबारे सम्बन्धित मन्त्रालय र निकायसँग परामर्श गरी अंग्रेजी भाषाको प्रयोग हुन लागेका भएमा रोक्ने विश्वास दिलाए।
प्रधानमन्त्री ओलीलाई कुलपति उप्रेतीले हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोगले नेपाली भाषा, राष्ट्रिय सुरक्षा, राष्ट्रियता, संविधान र मौलिकताको संरक्षण गर्ने अवगत गराएका थिए।
नेपालको संविधानको धारा ७ को उपधारा ९१० मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने छ भनी प्रस्ट उल्लेख छ ।
हालसम्म नेपालमा कूटनीतिक नियोगका सवारी साधनबाहेक सरकारी, संस्थान, सार्वजनिक र निजी सवारी साधनमा राखिने नम्बर प्लेट देवनागरी लिपिमा नै लेखाएर राख्ने गरिएको कुलपति उप्रेतीले स्पष्ट गरे ।
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी भाषामा मात्र राख्ने सरकारी तयारीप्रति मानक नेपाल भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाउँदै आएको छ।