एजेन्सी । भारतको सर्वोच्च अदालतले अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई दिने फैसला गरेको छ । सर्वोच्चले बुधबार सीबीआईलाई सुशान्तको मृत्युको अनुसन्धान गर्न र महाराष्ट्र सरकारलाई सहयोग गर्न निर्देशन दिएको हो ।
साथै सर्वोच्चले अनुसन्धानमा कुनै पनि प्रहरी हस्तक्षेप नगर्न पनि भनेको छ । यस अर्थमा मुम्बई प्रहरीले अब मुद्दामा संकलन गरिएका सबै प्रमाण अनुसन्धान एजेन्सीलाई हस्तान्तरण गर्नेछ ।
साथै रियाले आफू र परिवारविरुद्ध पटनामा दर्ता भएको एफआईआर पनि मुम्बई प्रहरीलाई हस्तान्तरण गर्न आग्रह गरेकामा त्यो मुद्दामा पनि सर्वोच्चले फैसला सुनाएको छ ।
सर्वोच्चले सुशान्तका बुबा केके सिंहले पटना प्रहरीमा दर्ता गराएको एफआईआर सही भएको भन्दै त्यो मुद्दा पनि सीबीआईलाई दिन निर्देशन दिएको हो ।
सर्वोच्चको निर्णयमा खुसी व्यक्तगर्दै सुशान्तका वकिल विकास सिंह भन्छन्, “यो सुशान्तसिंह राजपूतको परिवारका लागि विजय हो । सर्वोच्चले सबै निर्णय हाम्रो पक्षमा सुनायो । पटनामा दर्ता भएको एफआईआर सही थियो भनेर अदालतले स्पष्ट पार्यो ।”
सर्वोच्चले सुशान्तको मृत्यु प्रकरणमा दर्ता भएका हरेक एफआईआर सीबीआईलाई हेर्न निर्देशन दिएको भन्दै आफूहरुले चाँडै न्याय पाउनेमा विश्वस्त भएको उनले सुनाए ।
सुशान्तको मृत्यु प्रकरणमा विहार र मुम्बई प्रहरीबीच किचलो चलिरहेका बेला सर्वोच्चले कुनै पनि प्रहरीले हस्तक्षेप नगर्न निर्देशन दिएको छ । यसका साथै विहार र महाराष्ट्र सरकारबीच पनि यो मुद्दालाई लिएर राजनीतिक किचलो चलिरहेको थियो ।सुशान्तसिंह जुलाई १४ मा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेका थिए । (इन्डियन एक्सप्रेस)