वीरगन्ज | सेनाका कर्नेल राणा वीरगन्जको हालको अवस्था भयावह भइसकेको बताउँछन् । वीरगन्जमा समुदायस्तरमै कोरोना संक्रमण फैलिइसकेको र यो तेस्रो चरणको संक्रमण भएकाले अब जोखिम अत्यन्तै बढेको उनले बताए । ‘सबै सरोकारवालाहरू गम्भीर भएर लाग्नुको अब विकल्प छैन,’ उनले भने, ‘कि त कोरोनासँगै बाँच्न सक्नु पर्यो, नत्र यसलाई निर्मूल पार्न थप केही साता कडा कर्फ्युसँगै पीसीआर परीक्षणको दायरा तीब्र रूपमा विस्तार गरेर सँगसँगै आइसोलेसनको व्यवस्था पनि गर्न जरुरी भइसकेको छ ।’
हाल जिल्लामा रहेको एक मात्र कोभिड अस्पताल गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहको चिन्ता र अप्ठ्यारा पनि उत्तिक्कै छन् । ५० शय्या क्षमताको गण्डक कोभिड अस्पताल संक्रमितले भरीभराउ भएर त्यहाँ शय्या अभाव भएको छ । बाहिर क्वारेन्टिनहरू तथा घरमा समेत बसेकाहरूको संख्या झण्डै २ सय पुगेको छ । २ साता यता कोभिड अस्पतालमा भर्ना भएका संक्रमितमध्ये करिब ७० प्रतिशत लक्षण सहितका संक्रमित भएकाले उनीहरूको उपचार गरेर निसंक्रमण पार्न पनि समय लागिरहेको उनी बताउँछन् ।
‘अधिकांश संक्रमितमा जिउ दुख्ने, ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, पखाला लाग्ने जस्ता समस्या छन्, उनीहरूलाई निको पार्न समय लाग्छ,’ उनले भने, ‘गण्डक मात्र नभई अन्य अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि धमाधम संक्रमित भइरहेको अवस्थामा कोभिड अस्पतालमै खट्ने चिकित्सकको अभाव भइरहेको छ, हामीले निजी क्षेत्रका चिकित्सकलाई पनि कोभिड अस्पतालमा सेवा दिन आह्वान गरेका छौं, तर कोही आउन तयार छैनन् ।’
यस्तै अवस्था रहे एकातिर कोरोना संक्रमितको संख्या बढ्दै जाने र अर्कोतिर तिनको उपचारमा खटिने चिकित्सकै नपाउने अवस्था आउन सक्ने बलियो सम्भावना रहेको डा. सिंह बताउँछन् । कोरोना संक्रमण फैलिने दर अझै घट्ने सम्भावना नरहेको देखिरहेका डा सिंह वीरगन्जको यो अवस्थालाई ‘भगवान् भरोसा’ भन्छन् । ‘साँच्चिकै अहिलेको वीरगन्जको अवस्था भगवान् भरोसा नै छ,’ उनले भने, ‘यो अवस्थाबाट बाहिर निस्कन चानचुने प्रयासले सम्भव छैन ।’
जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसिया पनि हाल वीरगन्जको अवस्था गम्भीर भइसकेको स्वीकार्छन् । गण्डक कोभिड अस्पतालको विकल्प नहुनु र ठूलो संख्यामा बिरामीहरू घर र क्वारेन्टिनमा थन्किएको अवस्थाको अविलम्ब अन्त्य हुन जरुरी रहेको उनी बताउँछन् । ‘थप शय्या सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याउन जरुरी भइसकेको छ,’ उनले भने, ‘त्यतिन्जेल पूर्वाधार सहितको घरमै आइसोलेसन वा सेनाले बनाएको सिद्धार्थ स्कुलको सेमी आइसोलेसन प्रयोग गर्नु नै उचित हुन्छ ।’