वीरगंज | सरकारले कारागार,हिरासत,सुधार गृह, पुनर्स्थापना केन्द्रमा क्षमताभन्दा बढी मानिस राखिएकीले उक्त क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको बताएको छ। क्षमताभन्दा बढी मानिस भएको ठाउँमा भौतिक दूरी कायम गरी राख्न सक्ने संरचनाको अभाव रहेको र त्यस्तो स्थानमा आफैँ सुरक्षित रहन कोसिस गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए। उनले भने,’ कोभिड-१९ बाट सुरक्षित रहनको लागि भौतिक दूरी कायम राख्नुपर्ने,मास्क लगाउने र सफा सुग्घर भएर बस्नुपर्छ।
‘ सबैले दैनिक जीवनमा यस्ता क्रियाकलापहरू अपनाइ कार्यान्वयन गर्न पनि उनले आग्रह गरे। दैनिक उपभोग्य वस्तुहरु घरमा भित्र्याउँदा राम्रोसँग सफा गरेर मात्र लान पनि उनले सुझाव दिए। २५ जनाभन्दा बढी भेला हुन नपाइने दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको अवस्थामा सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुनलाई उनले आग्रह गरेका छन्।
सिंहदरबारभित्र र अन्य कार्यालयमा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूले समेत सामाजिक दूरी कायम नगरी काम गरेको प्रति स्वास्थ्य मन्त्रालयले गम्भीर आपत्ति प्रकट गरेको छ। शनिबार ३ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ। गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको छ। यसैगरी, २४ घण्टामा ९३ डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार ५ सय ९२ जना निको भएका छन्।