अर्घाखाँची । भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पुष्टि गरे ।प्रजिअ पौडेलका अनुसार उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो
भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका सूचना अधिकारी विजय विकले बताए ।घर फर्कने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।उनीसँगै आएका मानिसहरुको तथ्याकं संकलन सुरु भइसकेको प्रजिअ पौडेलले बताए ।