रेडियो नेपालको विज्ञप्तीप्रति भट्टराईको जवाफ– यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हो त?
वीरगंज संजाल
१६ बैशाख २०७७, मंगलवार ०१:००
३६८५
काठमाडौं | पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रेडियो नेपालको विज्ञप्तीको जवाफ दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे! भनेर प्रतिक्रिया दिएका हुन् ।
‘मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे! रेडियो नेपालले मेरो अन्तर्वार्ता लिए वापत ओलीतन्त्रले उसलाई क्षमायाचना गर्न र ‘अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने’ भन्ने वाचा गर्न लगाएछ! पंचायतकालको अन्तिम दिन सम्झाउने यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हे त?’–उनले भनेका छन् ।
यसअघि रेडियो नेपालले विज्ञप्ती जारी गरेको थियो ।
रेडियो नेपालले विज्ञप्तिमा ‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ,’ उल्लेख गरेको थियो ।
पूर्वप्रधानमन्त्री भट्टराईले अन्तरसंवाद कार्यक्रमलाई दिएको अन्तर्वार्ता रेडियो नेपालले हटाएको छ।