लकडाउन सदुपयोग : सामाजिक दुरी कायम गरी बाली भित्र्याउँदै किसान
वीरगंज संजाल
११ बैशाख २०७७, बिहीबार १८:१९
३०१९
जनकपुरधाम : विश्व कारोना संक्रमणको महामारीबाट त्राहिमाम रहँदा प्रकोपबाट अछुतो छैन् । देशभरमा लकडाउन घोषणा गरि घरबाट कसैलाई निस्कन मनाही गरिएको छ । तर किसानलाई खेतमा लगाएको तेलहन र दलहन बाली भित्राउने चटारो छ ।
तराई मधेशको जिल्लाहरुमा उत्पादन हुने धानपछिको प्रमुख बाली गहुँ खेतमा पाकिसकेको हुँदा काटेर, दाँइ गरी घर भित्राउन भ्याई-नभ्याई छ । खेतमा पाकिसकेको तेलहन बाली आलस, सरसो तथा दलहन, लाहरी, चना, मसुरो, मटरलगायतका बाली थन्क्याउने समय भएका कारण लकडाउनमा समेत किसान खेतबारी गएर काम गर्नुपर्ने बाध्यता छ ।
महोत्तरी बलवा नगरपालिकाका किसान विक्रम महतोले भने, ‘खेतबारीमा धेरै जना हुँदैन, क्याम्पस पढ्ने छोराछोरी सबै घरमै छ, मजदुर पैसा दिएर काट्नु भन्दा आफ्नै परिवारका सदस्यलाई बिहान-बेलुका खेतमा लिएर गएर काम गरे काम हुने रहेछ ।’
उनले घर नजिकै खेतबारी भएकोले परिवारकै सदस्य मिलेर सर्तकता अपनाउँदै खेतमा काम गर्न जाने गरेको बताए । संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन घोषणा गरेको तीन सातामा भैसकेपनि किसानहरु जोखिममै भएपनि खेतबारीमा काम गरिरहेका भछन् ।
लोहारपट्टी नगरपालिका स्थित खेतमा गहुँ काट्दै भेटिएका किसान सञ्जिव साहले अहिले गहुँ नकाटे सबै खेतमै बर्बाद हुने डरले जोखिम मोलेरै भएपनि स-परिवार गहुँ काट्न आएको बताए । उनले भने, ‘सरकारले लकडाउन हाम्रै लागि गरेको हो, हामीलाई थाहा छ, तर अहिले गहुँ भित्राउन पाईन, भने वर्षभरी खान धौ-धौ हुन्छ, त्यसैले बाहिरका मजदुर भन्दा गाउँकै दाजुभाई बोलाएर पैचो मजदुरी गरेर एक-अर्काको गहुँ काट्न लागि परेको छु ।’ पैंचो मजदुरीमा एक किसानले अर्को किसानको खेतमा गएर बराबरी काम गर्ने चलनलाई पैंचो मजदुरी भनिन्छ ।
लकडाउनका कारण एक गाउँबाट अर्को गाउँ सम्म जान मजदुर समेत डराउँछन् । ट्रयाक्टर सहितको गहुँ थ्रेसर मेशिन समेत आवत-जावत गर्न÷गराउन रोक लगाईएको छ । तर महोत्तरी लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र कुमार यादवले खेतमा सावधानी अपनाएर काम गर्न तथा कृषि उपकरण लैजान ल्याउने बाधा अवरोध उत्पन्न नगर्न प्रशासनलाई आग्रह गरेको बताए । उनले भने, ‘आफ्नै परिवारको सदस्यहरु काम गर्दा हुन्छ, एकै ठाउँमा धेरै भेला भएर काम गर्नुभन्दा खेतबारीमा आवश्यक काम गरे हुन्छ,’ मेयर यादवले भने, ‘एउटै टोलका मान्छेहरु भएर काम गर्दा हुन्छ, सकभर बाहिरका मानिसलाई काममा नलगाउन आग्रह गरेका छौं ।’
प्रदेश २ का भुमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले कृषकका लागि विशेष सुचना जारी नभएपनि लकडाउन सबैमा लागु हुने बताए । उनले भने, ‘लकडाउन सबैलाई छ, तर किसान खेतबबारी व्यस्त छ, गहुँ र तेलहन, दलहन बाली भित्राउन चटारो भएकोले घरमा बस्न सकेको छैन, हामीले पनि मेहनत गरेर उब्जाएको बाली घरमा भित्राउन आवश्यक नै भएकोले खेतमा नजानु भन्न सक्ने अवस्था पनि छैन ।’ कृषि मन्त्री साहले बाली लगाउने बेला नाघेपछि लगाएको बाली उत्पादनमा असर पर्ने र नभित्राउदा मेहनत खेर जाने र किसानलाई दोहोरो घाटा हुने भएकोले समाजिक दुरी कायम राखि बाली भित्राउन सुझाव दिएको बताए ।