काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको बताएको छ । बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४ वर्षीय पुरुष, ६० वर्षीय पुरुष र ७२ वर्षीया पुरुषमा देखिएको बताए। उनले हाल उनीहरु क्वारेन्टाइन्मा रहेको र अस्पताल ल्याउने तयारी गरिरहेको बताए।
हाल नेपालमा ७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। आज सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष डिस्चार्ज हुने मन्त्रालयले जनाएको हो।
नेपालमा बुधबारसम्म देशभरी आरडीटी विधिबाट ३१ हजार ४ सय २० परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ११ नमुना परीक्षण भएका छन्। हालसम्म दुवै आरडीटी र पीसीआर विधिबाट ४० हजार ४ सय वटा परीक्षण भएका छन्।
त्यसैगरी आइसोलेसनमा देशभरी ९५ जना रहेका छन्। काठमाडौँमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९२ जना छन्। क्वारेन्टाइनमा ८ हजार ५ सय ९५ जना रहेका प्रवक्ता देवकोटाले जनाए।
भारत र चीनद्वारा स्वास्थ्य सामग्री सहयोग
भारत र चीनले कोरोना रोकथाम तथा परीक्षणका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन्। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले औषधिहरु चरणबद्ध रुपमा प्राप्त हुने जनाए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट १८ किसिमका औषधि २३ टन सहयोग प्राप्त भएको बताएको छ। त्यसैगरी चीनले कोरोना रोकथामका लागि प्रयोग हुने सामग्री पनि सहयोग गरेको छ। पीसीआर मेसिन, थर्मोमिटर, पीपीइ सेट लगायतका सामग्री सहयोग गरेको हो।