बेंसीसहर : लकडाउनको समयमा अनुमति लिएर बाहिरी जिल्लाबाट आउने सवारी साधनलाई कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केर मात्रै लमजुङ प्रवेश दिइएको छ। तनहुँको सीमा पाउँदीमा एम्बुलेन्स र खाद्यान्न बोकेका गाडीलाई कीटाणुनाशक औषधि छर्कने गरिन्छ । कीटाणुनाशक औषधि छर्कन सुन्दरबजार नगरपालिकाले दिउँसोको दुई सिफ्टमा २ युवक खटाएको छ ।
एम्बुलेन्स, खाद्यान्न बोक्ने, कूटनीतिक नियोग र सुरक्षा निकायका गाडीलाई ‘डिसइन्फेक्सन’ गरेर मात्र जिल्ला प्रवेश गर्न दिइएको कमान्ड पोस्टका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए ।
साँझ ७ देखि बिहान ७ बजेसम्म एम्बुलेन्सबाहेक पास भएका गाडीलाई समेत जिल्ला प्रवेशमा रोक लगाइएको छ । मुख्य नाका पाउँदीसँगै दुईपिप्ले, रामबजारलगायत नाकाबाट प्रवेश रोकिएको छ । दिउँसोको समय खाद्यान्न बोकेका गाडीलाई मात्र प्रवेश दिइएको छ ।
कीटाणुनाशक औषधि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत ल्याइएको हो । मुख्य गेट वरपर, मानिस भीड हुने स्थान, हेल्थ डेस्कमा समेत औषधि छर्कने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए।