बर्दिबास । कोरोना भाइरससँग सामना गर्न अस्पताल, स्वाथ्यकर्मी र एम्बुलेन्स अतिआवश्यक छन् । तर, महोत्तरीमा सरकारी अस्पताल तथा स्वास्थ्य चौकीको एम्बुलेन्स बिग्रिएर थन्किएको छ ।
बिरामीलाई बोक्ने एम्बुलेन्स मर्मतको अभावमा आफैं बिरामी भएको छ । बर्दिबास सरकारी अस्पतालमा दुई एम्बुलेन्स छन् । तर, दुवै बिग्रिएर अस्पतालमा थन्किएको छ ।
बिजलपुरा स्वास्थ्य चौकीको एम्बुलेन्स पनि दुर्घटनामा परेर थन्किएको छ । एम्बुलेन्सको हालको अवस्थाको बारेमा कुरा गर्दा बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले तुरुन्त एम्बुलेन्स बनाउने बताए । ‘अप्ठ्यारो परिस्थितिमा मेरो अहिलेको कार्यभार नै नागरिकको जनस्वास्थ्य बनेको छ,’ उनले भने ।
भंगहा नगरपालिकामा रहेको एम्बुलेन्स पनि बिग्रेरै बसिरहेको छ । भंगहा र हरिणमरी स्वास्थ्य चौकीको एम्बुलेन्स थन्केर बसेको हो ।‘मर्मत गर्न लाग्ने रकमले नयाँ एम्बुलेन्स आउँछ । दुई नयाँ एम्बुलेन्स खरिद गर्न टेण्डर गरेका छौं,’ भंगहा नगरपालिका मेयर संजिवकुमार साहले भने ।
प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुरको नयाँ एम्बुलेन्स बिग्रिएपछि वीरगञ्जगजमा मर्मतको लागि पठाइएको छ । अर्को पुरानो एम्बुलेन्स तयारी अवस्थामा छ । कोरोना भाइरसका बिरामीलाई क्वाइरेन्टानसम्म पुर्याउन स्वास्थ्य संस्थाको उपकरण, स्वास्थ्यकर्मी र सवारी साधन तयारी अवस्थामा राख्नु पर्ने हुन्छ । ‘तुरुन्तै हाम्रो अस्पतालका एम्बुलेन्स तयारी अवस्थामा राख्नुको विकल्प छैन,’बर्दिबास सरकारी अस्पतालका डा.अनिल फुयाँलले भने । सभार ः अन्नपूर्ण पोस्ट