लगातारको लकडाउनपछि खर्चपर्च तथा खाद्यान्नको अभाव हुँदा गाउँ फर्किन लागेको मजदुरलाई सुरक्षाकर्मीले नै राजमार्गमा उपलब्ध गाडीमा चठाएर पठाउन थालेका छन् ।
गृह मन्त्रालयको निर्देशनपछि राजमार्गमा खटिएका प्रहरीहरुले पैदल गाउँ फर्किन लागेका काठमाडौँमा काम गर्ने मजदुरहरुका समूहलाई काठमाडौँमा सामान छोडेर फर्किन थालेका ट्रक तथा लरीमा राखेर पठाउन थालेका हुन् ।
विशेष गरी निर्माण क्षेत्रमा काम गर्ने विभिन्न जिल्लाका मजदुरहरु हिँडेरै गाउँ फर्किन थालेको र उनीहरु बाटोमा बिचल्लिमा परेको सम्बन्धी लगातारको समाचार तथा त्यसलाई लिएर भएको चौतर्फी आलोचनापछि सरकारले नै पैदल यात्रीको उद्धार गर्ने निर्णय गरेको हो ।
लगातारको आलोचनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले सम्बन्धित सबै निकायलाई पैदल यात्रीलाई यथास्थानमा रोकिन र उनीहरुलाई खानपानको व्यवस्था गर्न निर्देशन दिएको थियो । यस्तै उनीहरुलाई उपलब्ध गाडीमा मिलाएर राखी पठाउने व्यवस्था मिलाउन पनि भनिएको थियो । सोही अनुसार गृह मन्त्रालयले प्रहरी प्रशानलाई बाटोमा पैदल हिँडेकाहरुलाई सहयोग गर्न निर्देशन दिएको हो ।
शनिबार बिहानै स्थलगत रिपोर्टिङ्गका लागि देश सञ्चारको टोली पुग्दा खानीखोला, धुनीबेसी क्षेत्र पुग्दा प्रहरीहरुले नै पैदल यात्रीलाई गाडी रोकेर पठाएको देखिएको हो ।
इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपबहादुर खड्काले गृहको निर्देशन अनुसार पैदल यात्रीलाई गाडी आफै रोकेर चठाउन भनेपछि प्रहरी जवानहरु समूहमा हिँडेका यात्रीलाई रोकेर ट्रक तथा लरीमा चढाइरहेका छन् ।
विशेषगरी काठमाडौँका विभिन्न निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरु खर्च सकिएको तथा ठेकेदारले पनि केही सय पैसा थमाएर पठाएको भन्दै पैदल हिँडेका भेटिन्छन् । यसरी भेटिनेमा सल्यान पुग्ने एक महिलासहितको १४ जनाको समूह, बर्दिया पुग्ने ६ युवाको समूहदेखि काखे छोरा र १०–१२ वर्षको अर्को छोरासहित वीरगञ्जका लागि हिँडेकी महिलासम्म छन् ।
अघिल्ला दिनमा पनि अलपत्र यात्रीलाई चढाउने गरेको भए पनि ठाउँठाउँमा प्रहरीले दुःख दिने र ओराल्ने गरेको अनुभव ट्रक चालकको छ । तर अहिले प्रहरीले नै भनेपछि मान्नु पर्ने तथा अब विगतका दिनको जस्तो अवस्था नआउला कि भन्ने आश रहेको चालकहरुले बताए ।